भावी अर्थमन्त्रीमा नेताहरुको रस्साकस्सीः चौधरी, महतदेखि वाग्लेसम्मको चर्चा

विदुर खबर २०७९ फागुन १६ गते २१:२३

नुवाकोट ।  सत्ता समीकरण फेरबदल भएसँगै रिक्त अर्थमन्त्रालयको बागडोर सम्हाल्न को आउँछ भन्ने विषय अहिले चर्चामा छ ।

Advertisement

अर्थमन्त्रीको रुपमा आउने व्यक्तित्व र उसले लिने नीतिले सेयर बजार समेत प्रभावित हुने भएकोले यो क्षेत्रमा यसको अझ ठूलो चर्चा छ ।  नेकपा एमालेले सरकार छाडेर समर्थन समेत फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राष्टपतिको निर्वाचनअघि नै संसदबाट विश्वासको मत लिने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिनुअघि नै मन्त्रीमण्डललाई पूर्णता दिने दौडधूपमा छन् । यही बेला अर्थमन्त्रीको रुपमा आउने अनुहारको विषयमा अनेकन अड्कलबाजीहरु भइरहेका छन् ।

अर्थतन्त्र जर्जर बनेको अवस्था, सेयर बजार घटिरहेको बेला तथा बैंक र वित्तीय संस्थामा समेत समस्या देखिएको बेलामा मुलुकलाई नै उद्दार गर्नेगरी अर्थमन्त्री ल्याउनुपर्ने चर्चा समेत भइरहेको छ । दलदलमा फसेको अर्थतन्त्रलाई उकास्ने गरी अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्रीको रुपमा आए त्यसले लगानीकर्ताको मनोबल बढ्ने, डूब्न लागेको अर्थतन्त्रले त्राण पाउने अपेक्षा गरिनु स्वभाविक पनि हो ।  प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्रालय कांग्रेसले लिने निश्चित झै देखिन्छ । त्यसो हुँदा कांग्रेसबाटै अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्री बन्नसक्ने सम्भावना प्रवल छ ।
Advertisement

कांग्रेस निकट उच्च स्रोतहरुका अनुसार भावी अर्थमन्त्रीको रुपमा पार्टीभित्रै उद्योगपति तथा अर्थविद विनोद चौधरी, कांग्रेस नेता प्रकाशशरण महत र युवा अर्थशास्त्री स्वर्णिम वाग्लेको चर्चा व्यापक बनेको छ । उनीहरुसँगै पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत अर्थमन्त्रालयमा आउने मन परेका छन् ।  स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने अर्थमन्त्रीको रुपमा विनोद चौधरी, प्रकाशशरण महत र डा. स्व्र्णिम वाग्लेबीच बढी प्रतिस्पर्धा भइरहेको छ ।

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले अर्थमन्त्रालयमा आफ्नो दाबीलाई स्वभाविक भन्दै पार्टीभित्र तीव्र लविंग गरिरहेका छन् । आफूले अर्थतन्त्रलाई बुझेकाले वर्तमान समस्या समाधानका लागि आफू नै उपयुक्त पात्र भएको उनको दाबी छ । कांग्रेसले चुनावताका जोखिमपूर्ण क्षेत्रको रुपमा वर्गीकरण गरेको ठाउँबाट शानदार ढंगले चुनाव जितेकोले चौधरीको शक्ति पार्टीमा बढेको दाबी गरिन्छ । भरसक अर्थमन्त्रीको रुपमा आउने, नभए परराष्टमन्त्रीसम्म भए पनि चित्त बुझाउने चौधरीको तयारी बुझिन्छ ।

Advertisement

यस्तै, देउवा निकट नेता भएका कारण प्रकाशशरण महतले समेत यसपटक अर्थमन्त्रालयमा आउन मन गरेका छन् । तर, उनी अर्थतन्त्रलाई धेरै नजिकबाट बुझेका व्यक्ति होइनन् । देउवा दाहिना भएकोले उनको समेत सम्भावना बलियो रहेको स्रोत दाबी गर्छ ।

कांग्रेसभित्र र बाहिरबाटै जोखिममा पर्दै गएको अर्थतन्त्रका लागि युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको रुपमा ल्याउनुपर्ने आवाज पनि उत्तिकै उठिरहेको छ । वर्तमान संविधानाले गैरसांसद समेत ६ महिनासम्म मन्त्री हुन पाउने सुविधा दिएको छ । त्यसपछि भने ऊ तल्लो वा माथिल्लो सदनमध्ये एउटाको सदस्य कायम भए मात्र मन्त्रीको रुपमा निरन्तर हुनेछ । ६ महिनापछि सांसद बनाउने गरी डा. वाग्लेलाई अर्थमन्त्री बनाउने आवाज समेत बलियो बन्दै गएको दाबी गरिन्छ ।

आ-आफ्नो दाबी र लिगलिगे दौड चलिरहेको बेला हामी यत्ति भन्नसक्छौं, अर्थमन्त्रालयको बागडोर सम्हाल्ने व्यक्ति कम्तीमा अर्थतन्त्र बुझेको हुनुपर्छ । अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नसक्ने ल्याकत भएको व्यक्तिलाई अर्थमन्त्रीको रुपमा प्रचण्डले ल्याउन सकेनन् र फेरि पनि जनार्दन शर्मा प्रवृतिकै व्यक्तिहरुलाई निरन्तरता दिनेतर्फ लागे भने मुलुक अझ ठूलो दलदलमा फस्न सक्छ ।

प्रतिक्रिया