विदुर नगरपालिकाले पुस २७ गते सार्वजनिक विदा दिने

नुवाकोट । विदुर नगरपालिकाले राष्ट्रिय एकीकरण दिवसको अवसरमा आगामी बुधवार पौष २७ गते सार्वजनिक विदा दिने भएको छ ।
नगरपालिकाले आगामी पौष २७ गते बुधवार आफ्नो मातहतमा अन्तर्गत रहेका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खनालले जानकारी दिए ।
पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यमा टुक्रिएको नेपाललाई एकीकरण गरेर उदाहरणीय बनेका थिए । उनको यो एकीकरणकै कारण अहिलेसम्म नेपाल एकढिक्का छ ।
तर राजनीतिक पूर्वाग्रह राखेरै र पृथ्वीनारायण शाहका सन्तानले गरेको गल्तीको प्रतिशोध उनीमाथि साँधेर यसअघि २०६३ को परिवर्तनपछि पृथ्वी जयन्तीमा विदा दिने चलन हटाइएको थियो। विस १७७९ पुस २७ गते गोरखामा जन्मेका शाहले बाइसे र चौबिसे राज्यमा बाँडिएको नेपाललाई एकीकरण गरेका थिए ।
आफ्नो जीवनको अधिकांश समय एकीकरणमै विताएका पृथ्वीनारायण शाहले नुवाकोटबाट नेपाल एकिकरणको अभियान शुरुवात गरेको र उनको देहान्त पनि बिदुर–५ देवीघाटमै भएकोले १ दिन नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।
यसअघि नेपालको एकीकरण गरेका शाहको सम्मानमा उनको जन्मदिन एकता दिवसको रूपमा मनाउने माग उठ्दै आएको थियो ।
प्रतिक्रिया