सुनको मूल्यले नयाँ रेकर्ड बनाउने प्रक्षेपण

विदुर खबर २०७९ पुष २० गते १८:१४

नुवाकोट । सुनको भाउ दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

Advertisement

सुनको भाउ उकालो लागिरहँदा पछिल्लो ९ महिनायताकै उच्च भएको छ । पुस २० गते, सुन प्रतितोला एक लाख २ हजार ९०० रुपैयाँ पुगेको छ । यो पछिल्लो रेकर्डस्तर भन्दा २ हजार ६०० रुपैयाँले मात्र कम हो ।

यस अघि २०७८ फागुन २५ गते, सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । सो समयमा सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको थियो । यसअघि, २०२२ को मार्च १३ अथवा २०७८ चैत ९ मा सुन प्रतितोला एक लाख २ हजार ८०० रूपैयाँमा खरिदबिक्री भएको थियो ।

Advertisement

सुनकाे मूल्य आकासिदा यसकाे असर नेपाली सुन बजारमा परेकाे छ । यतिबेला सुन पसलमा सुन  किन्ने भन्दा बेच्नेकाे संख्या धेरै रहेकाे छ । सुनचाँदी व्यवसायीहरूका अनुसार सुनकाे भाउ प्रतिताेला एक लाख रूपैयाँ नाघेपछि सुनकाे किन्न आउने निकै कम रहेका छन् । कलंकीका एक व्यापारी अनमाेल पण्डितले सुन व्यापार घटेकाे गुनासाे गरेका छन् । उनी भन्छन्, “सुनकाे भाउ बढेकाे बढ्यै छ । अहिले किन्न आउने त एकाध मात्र छन् । प्राय सबै जना सुन बेच्न मात्र आउँछन् । अहिले दिनमा मुस्किलले एक वा दुई ताेला मात्र जान्छ ।”

सुनकाे माग अत्यन्त कम भएकाले पनि हाल नेपाली सुन बजार ठप्प जस्तै भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले अहिले बैंकबाट आउने सुन पनि नेपाल बैंकर एशोसियनसनलाई अनुरोध गरेर रोकेकाे जानकारी दिएका छन् ।

Advertisement

उनी सुनाउँछन्, “नेपालमा अहिले फिटिक्कै व्यापार छैन । बेच्न आउनेको संख्या धेरै छ । नेपालको अर्थतन्त्र अस्थिर हुँदा पैसाको आवश्यक पर्छ त्यसपछि सुनका गरगहना बेच्ने चलन छ । त्यसैले अहिले सुनको भाउ बढिरहँदा सुन किन्ने भन्दा पनि बेच्ने बढी छन् । विवाहको सिजन पनि छैन  अहिले।” सुन बजारमा सुन बेच्नेहरु हावी भएको हुँदा पनि बजार ठप्प जस्तै छ ।

माघ, फागुन नजिकिए पनि सुनको भाउ उच्च हुँदा व्यापार हुन्छ भन्नेमा व्यवसायीहरू विश्वस्त छैनन् । “अहिले अन्यौलता छाएको छ । सुनको भाउ अझै उच्च हुँदै गयो भने मानिसहरुले माघ फागुनको सिजनको समयमा जति लिनुपर्ने हो त्यसको ५० प्रतिशत कम लिने देखिन्छ,” महासचिव बज्राचार्य बताउँछन् ।

प्रतिक्रिया