२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो

विदुर खबर २०७९ पुष १४ गते १२:४९

नुवाकोट । अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ ।

Advertisement

पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो । समितिको मंगलबार बसेको बैठकले पात्रो तयार गरी पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई पात्रो उपलब्ध गराएको थियो ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै भन्नुभयो– ‘पात्रो तयारीको क्रममा छ । निर्णय भएपछि सबै विषयमा जानकारी दिनेछौं ।’ समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी गरेको छ । कार्यकारी निर्देशक ढुंगेलले केही दिनभित्र पात्रो बजारमा आउने जानकारी दिँदै भन्नुभयो–‘एक दुई दिनमा निर्णय गर्नेछाै‌, त्यसपछि छपाइका लागि स्वीकृत दिनेछौं ।

Advertisement

वि.सं. २०८० सालमा दशैंको पहिलो दिन घटस्थापना असाेज २८ गते परेको छ । कार्तिक ४ गते फूलपाती, ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजया दशमी परेको छ । त्यस्तै, कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिका एक पञ्चाङ्गकारले बताउनुभयो । अर्को पर्व तिहार कार्तिक २५ गतेबाट शुरू हुनेछ । २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ ।

समितिले तयार गरेको पात्रो अर्को साता गृह मन्त्रालयमा पठाइने छ । गृहले सार्वजनिक बिदाको निर्णय तयार गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ । विदेशमा रहने नेपाली र अन्य निकायले तालिका सार्वजनिक गर्न आग्रह गरेपछि विगतभन्दा केही दिनअघि नै पात्रो तयार गर्न लागिएको हो ।नयाँ वर्षको पात्रोअनुसार असार १८ गते गुरु पूर्णिमा र साउन १ गते सोमबारे आंैशी परेको छ । औंशीलगत्तै साउन २ देखि मलमास शुरू भएर भदौ १ गतेसम्म रहने छ । त्यसबीच एक महिनासम्म कुनै पनि चाडपर्व रहनेछैन । भदौदेखि धमाधम चाडपर्व शुरू हुनेछन् ।

Advertisement

भदौ ४ गते नागपञ्चमी र भदौ ७ गते गौरापर्व परेको छ । सुदूपश्चिमको महत्वपूर्ण चाड गौरापर्व एक महिना अगावै परेको छ । भदौ १४ गते जनै पूर्णिमा, १५ गते गाईजात्रा, २० गते कृष्ण जन्माष्टमी र भदौ २९ गते कुशेऔंशी परेको छ । त्यसै गरी भदौ ३१ गते दरखाने, असोज १ गते हरितालिका तिज र विश्वकर्मा पूजा परेको छ । मंगलचौथी ऋषिपञ्चमी एकैदिन अर्थात असोज २ गते परेको समितिले जनाएको छ ।

त्यस्तै, असोज ३ गते संविधान दिवस, ११ गते इन्द्रजात्रा, मंसिर ३ गते छठपर्व, ७ गते तुलसी विवाह र २४ गते सद्विज छर्ने पर्व परेको छ । विसं २०८० सालमा व्र्रतबन्ध र विवाहको साइत धेरै रहेका छन् । वैशाख २४, जेठ ८, १०, २२ र २५ चैत ७, ८ र १४ गरी ८ वटा व्रतबन्धको साइत परेको छ । विवाहको साइत पनि झण्डै १५ भन्दा बढी परेका छन् । वैशाख १९, २०, २७ र २८, जेठ २, ६, ७, १५, १६, २०, २२, २४ र २९, असार ७, ८ र ११ गते विवाहको साइत रहेको छ ।

त्यसै गरी मंसिर १२, १३, १८, २१, २३, २८ देखि ३०, माघ २, १६, १७, २१, २३ र २९, र फागुन १९ र २१देखि २४ सम्म विवाहको साइत परेको छ ।समितिका कार्यकारी निर्देशक ढुंगेलले पञ्चाङ्गकार, विश्वविद्यालयका विज्ञ, ज्योतिष विज्ञलगायत सबैको राय र सुझावका आधारमा पात्रो तयार गरेको जिकिर गर्दै भन्नुभयो– ‘कुनै पनि तिथि र मिति विवादित नहोस् भन्ने उद्देश्यले व्यापक छलफल गरी पात्रो तयार गरेका हौं, केही दिनमा बजारमा आउने अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया