देउवाले बहादुरलाई रोज्दा बानियाँको हार

विदुर खबर २०७९ पुष १३ गते २२:१५

नुवाकोट । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सबैजसो चुनावी कार्यक्रममा आफू मुख्यमन्त्री बन्ने र विकासका कामलाई तीव्र बनाउने योजना सुनाए ।

Advertisement

माओवादी केन्द्रसहितका दलसँग गठबन्धन र कांग्रेसको प्रदेश सभापति भएकाले उनको दाबी अस्वाभाविक थिएन । ३७ सांसदसहित कांग्रेस प्रदेशसभाकै सबैभन्दा ठूलो पनि बन्यो । तर सरकार गठन गर्ने बेला माओवादीले कांग्रेसलाई छाडेर एमालेसँग सहकार्य गरेपछि बागमती प्रदेशमा तत्कालका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना टर्‍यो । मुख्यमन्त्री बन्ने योजनामा रहेका बानियाँ भने संसदीय दलको नेता पनि बन्न सकेनन् ।

केन्द्रीय सभापति शेरबहादुर देउवाकै साथ नपाएपछि उनी संसदीय दलको नेतामा बहादुरसिंह लामासँग पराजित भएका छन् । प्रदेशसभा सदस्य मीना पोखरेल भन्छिन्, ‘दुवै जना नेता एउटै टिमबाट हुनुहुन्थ्यो । तर आज बिहान ११ बजे सभापतिले बहादुर सिंह लामालाई जिताउनु भनेर भन्नुभयो ।’

Advertisement

त्यही कारण दलको नेता चयनका लागि बुधबार भएको निर्वाचनमा लामाले २१ मत पाउँदा बानियाँको पक्षमा १६ मत मात्र खस्यो । लामा र बानियाँ दुबै संस्थापन पक्षका सांसद हुन् । पछिल्लो समय सभापति देउवासँग बानियाँको सम्बन्ध बिग्रिएको नेताहरु बताउँछन् । उनीमाथि सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई प्रतिनिधि सभाको निर्वाचनमा असहयोग गरेको आरोप पनि थियो ।

त्यसैले होला लामालाई दलको नेता जिताउन संस्थापन पक्षका केन्द्रीय नेताहरु खुलेर लागेका थिए । सहमहामन्त्री डिना, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत लगायतका नेता हेटौंडामै बसेर लामाको पक्षमा लबिङ गरेका थिए ।

Advertisement

डा. शेखर कोइराला समूहको आफ्नो उम्मेदवार थिएन । बुधबार विहान बसेको बैठकले यसबारे समन्वय गर्ने जिम्मा महामन्त्री गगनकुमार थापा र नेता अर्जुनरसिंह केसीलाई दिएको थियो । नेताहरुले पनि आफ्नो पक्षका प्रदेशसभा सदस्यलाई अनुकुलतामा काम गर्न सुझाएका थिए ।

जसले जितेपनि आफ्नो समूहको नभएकाले कुनै निर्देशन नआएको नेता जगदिश्वर नरसिंह केसीले बताए । गएको महाधिवेशनमा बानियाँसँग प्रदेश सभापतिमा पराजित केसीले भने, ‘जसले जितेपनि हामीले बधाई तथा शुभकामना दिने हो । हाम्रो नेताहरुले यो व्यक्तिलाई मत दिनुस् भन्नुभएन ।’

पूर्व महामन्त्री प्रकाशमान सिंहले इच्छाएको व्यक्तिलाई मतदान गर्न आफू पक्षीय सांसदलाई स्वतन्त्र छाडेका थिए । उनीहरुमध्ये अधिकांश लामाको पक्षमा खुले ।

प्रतिक्रिया