तिहारमा कति भयाे त भाइ मसलाको आयात ?

विदुर खबर २०७९ कार्तिक ९ गते ७:११

नुवाकोट । तिहारकालागि नभइ नहुने मध्ये भाइ मसला पनि एक हो । दाजु भाईलाई टिका लगाइसकेपछि भाइ मसला नभए तिहार अधुरो नै रहन्छ । सुस्वास्थ्यको कामना गर्दै दाजु भाईलाई उपहार स्वरुप भाइ मसला दिने चलन रहिआएको छ।

Advertisement

भाइ मसलामा काजु, बदाम, किसमिस, पिस्ता, मखना, छोकडा आदि पर्दछन् । अझ ओखर त तिहारकोलागि अत्यन्त महत्वपूर्ण मानिन्छ । दाजु भाईको रक्षाकालागि ढोकामा ओखर फुटाउनु त भाइ टिकाको परम्परा नै हो ।

स्वास्थ्यका हिसाबले पनि यी मसलालाई उपयुक्त मानिन्छ । शरिरलाई आवश्यक तत्वहरु मसलामा भरपुर पाइने भएकाले पनि तिहारमा भाइ मसलाकाे आदान प्रदान हुन्छ ।

Advertisement

त्यसैले पनि तिहारमा अपरिहार्य भाइ मसलाको बिक्री धेरै हुने गरेको छ । माग अनुसार बजारमा भाइ मसला किन्नेको भिड तिहारसम्म पनि हुन्छ ।

कति हुने गरेको छ त भाइ मसलाको आयात ?

Advertisement

भन्सार विभागको विवरण हेर्दा नेपालीले तिहारका लागि चाहिने भाइ मसलाका अधिकाशं वस्तु आयात गरिने गरेको देखिएको छ ।

आर्थिक वर्षको साउन र भदौंमा तिहारका लागि भित्रिएको भाइ मसलाको सामानहरुको सूची यस्तो छ । यस अवधिमा नेपालमा काजु, पेस्ता, बदाम, ओखर, मकैफूला (मखना) र नरिवललगायतका वस्तु धेरै मात्रामा आयात भएको देखिन्छ ।

साउनयता ८ लाख ८२ हजार रुपैयाँको एक हजार ५९८ किलो काजु आयात नेपालले गरेको छ । ७ करोड २८ लाख ३४ हजार रुपैयाँको ६५ हजार २७४ किलो पेस्ता किनेको नेपालले ५ लाख १३ हजार रुपैयाँको २७२ किलो आलमण्ड बदाम आयात गरेको देखिन्छ ।

यस्तै ६६ हजार ८७२ किलो सामान्य बदामका लागि ७ करोड ३७ लाख १७ हजार रुपैयाँ खर्चिएको नेपालले ५ करोड २ लाख ८० हजार रुपैयाँको एक लाख ५९ हजार ६४६ किलो ओखर पनि तिहारलाई लक्षित गर्दै आयात गरेको छ ।

भाइ मसलामा चासो र उत्सुकतापूर्वक लिइने (मखाना) मकैफूल ३ करोड ६३ लाख ६९ हजार रुपैयाँको एक लाख २२ हजार २३० किलो आयात भएको छ ।

यस्तै १९ करोड ४४ लाख ९६ हजार रुपैयाँको २८ लाख २ हजार ७३९ किलो नरिवल पनि नेपालले किनेको छ । यि वस्तु तिहारलाई लक्षित गरी बजारमा गइसकेको व्यापारीहरुको भनाई छ ।

 

प्रतिक्रिया