रसुवागढी नाका खुले लगत्तै ३ करोड राजस्व संकलन,२ सय ट्रक तथा कन्टेनर भन्सारमा प्रवेश

विदुर खबर २०७५ भदौ २२ गते १:१९

Advertisement

रसुवा  भदौ  २१,राजमार्ग खुला भएलगत्तै सामान परीक्षण र भन्सार राजस्व असूली  शुरु भएको छ ।

प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चिनियाँ सामान आयात गर्ने करीब २०० वटा ट्रक कण्टेनर बुधबार र बिहीबार साँझसम्म भन्सार हातामा प्रवेश गरिसकेका छन् । आज बिहीबार मात्रै रु तीन करोड भन्सार राजस्व असूली भएको छ । सामान आयात गर्ने एक मात्र नेपालको उत्तरी नाका रसुवागढी राजमार्गअन्तर्गत गत साउन ९ गते अगाडि केरुङ गएका लगभग एक हजार दुई सय ट्रक कण्टेनरले चिनियाँ गोदामबाट सामान लाद्न थालेको जानकारी आएको सीमा क्षेत्रका सुरक्षाकर्मीले बताएका छन् ।

Advertisement

मितेरी पुल रसुवागढीबाट सामान लिनका लागि केरुङतर्फ बुधबार र आज १०० भन्दा बढी ट्रक कण्टेनर केरुङतर्फ प्रस्थान गरेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ । आयात भएका सामग्री छिटोछरितो जाँचका लागि आवश्यक जाँचकी तैनाथ गरिसकिएकाले भन्सार प्रक्रिया ढिलो नहुने प्रमुख भन्सार अधिकृत कोइरालाले जानकारी दिनुभयो । गत साउन ९ गते टिमुरे प्रवेशद्वारमा पहिरो आएको, साउन ११ गते रसुवागढी घट्टेघोलाको पक्की पुल क्षति भएको, साउन २२ गते रसुवागढी छेउको राजमार्ग भोटेकोशीले कटान गरेको र यही भदौ २ गते धुञ्चेको त्रिशूली नदी छेउमा गएका दुई पहिराका कारण सबैखाले सवारी साधन आवतजावत बन्द भएको थियो । पहिरो गएका स्थानमा नयाँ मार्ग खोली भदौ १८ गते धुञ्चे क्षेत्र र १९ गते रसुवागढी क्षेत्रको राजमार्गमा यातायात पुनः सञ्चालन गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सडक खुलेसँगै रोकिएका सवारी साधन एकसाथ ताँती लागेपछि ट्राफिक व्यवस्थापनलाई चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाको राजमार्गमा बाटो सहज भए पनि नुवाकोटको तिरतिरे भीरमा पानी परेको बेला लेदो माटो आउने र गेर्खु खोलाको हिमपाइप कलभर्टमा भलपानीको समस्या यथावतै रहेको सवारी चालकले बताएका छन् ।

Advertisement

प्रतिक्रिया