कांग्रेसमा किचलो, बन्दसूची नसच्याए निर्वाचनमा सहयोग नगर्ने शेखर समुहको चेतावनी

विदुर खबर २०७९ असोज १३ गते ७:५३

नुवाकोट । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूचीको विषयलाई लिएर कांग्रेसको संस्थापनइतर पक्षले विरोध र वार्तालाई एक साथ अघि बढाएको छ।

Advertisement

संस्थापन पक्षले बन्दसूचीमा एक पक्षीय रुपमा उम्मेदवारहरु समावेश गरेको भन्दै शेखर कोइराला पक्षले बुधबार पार्टी मुख्यालय सानेपामा एक घण्टा धर्ना दिएको हो। बुधबार दिउँसो १ बजे सो पक्षका नेता तथा कार्यकर्ताले मुख्यालयको मूल गेटमै धर्ना दिएका हुन्।

डमी लिस्ट पठाइयो’
संस्थापन इतर समूहका नेता भूपेन्द्र शाहीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीभित्र समान अवसर र न्यायको खाँचो रहेको औंल्याए। उनले भने, ‘नेपाली कांग्रेस सबैको साझा पार्टी हो। कसैको व्यक्तिगत होइन। त्यसैले यो पार्टीमा लाग्ने हरेक कार्यकर्ताहरुको मूल्यांकन हुन जरुरी छ। मापदण्ड बनाउन जरुरी छ।’

Advertisement

पार्टीका लागि सहादत प्राप्त गरेका व्यक्तिहरुलाई पन्छाइएको शाहीको आरोप छ। उनले महाधिवेशनमा अर्को समूहमा लागेका, भोट नहालेका भन्दै देउवा समूहले अन्यायपूर्ण तरिकाले गुटबन्दीको खेती गरेको उनको भनाइ छ। शाहीले पार्टी कार्यालय आस्थाको केन्द्रबिन्दु भएकाले सडकमा नगई यहीँबाट दबाब दिएको दाबी गरे।

शाहीले भने, ‘पार्टी सभापतिज्यूलाई हाम्रो आग्रह छ। पार्टीभित्र हामीले विवाद चाहिरहेका छैनौं। कांग्रेसलाई विजयी गराउनका लागि गाउँ जान चाहान्छौं। हामी पार्टी विजयको अभियान चलाउन चाहान्छौं।’

Advertisement

उनले पार्टीभित्रको विवाद नमिलाएर अघि बढ्न खोजेको भन्दै बाध्य भएर आवाज उठाएको बताए। सार्वजनिक भएको समानुपातिकको सूची हेर्दा पार्टीमा दुःख, संघर्ष गरेका, लगानी गरेका, पसिना बगाएका, रगत बगाएका कार्यकर्ताभन्दा पनि नेताहरुको पहुँच भएका र नेताहरुका खल्तीका मान्छेहरुलाई उम्मेदवार बनाइएको आरोप लगाए।

उनले पार्टी आफू कर्णाली प्रदेशको अध्यक्षको प्रत्यासी र संसदीय बोर्डको सदस्य भएको भए पनि जिल्ला र प्रदेशमा छलफल भएका नामहरु नभई ‘डमी लिस्ट’ बनाएर पेश गरेको आरोप लगाए। उनले पार्टी नेतृत्वले आफ्ना मागहरु सुन्नुको विकल्प नभएको दाबी गरे। उनले आफूहरुकै दबाबका कारण सभापतिले बालुवाटारमा पदाधिकारीलाई बोलाएर छलफल गरिरहेकाले त्यसबारे चाँडै समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे। पार्टी सभापतिले मिलाउछु भन्ने प्रतिबद्धता देखाए पनि ठोस निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ।

‘बन्दसूची नसच्चिए प्रत्यक्षमा उम्मेदवार नरहनसक्छ’
कांग्रेस  केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले निर्णय प्रक्रियाबाट समानुपातिक बन्द सूचीको लिस्टमा एउटा पक्षलाई बाहिर राख्ने प्रयासका कारण धर्ना लगायतका कार्यक्रम गर्नु परेको बताए। उनले पार्टीको शीर्ष नेतृत्वले निर्णय नसच्याए पार्टी सकिने चेतावनी दिए।

उनले भने, ‘बन्दसूची सार्वजनिक भइसकेपछि त्यसले नेता कार्यकर्ता मात्रै नभई आम मतदाताको बीचमा असन्तुष्टि पैदा भएको छ। यदि नसच्चिने हो भने, यो असन्तोष आक्रोशमा परिणत हुँदै विद्रोहमा समेत परिणत हुनसक्छ। त्यसैले समयमै नेतृत्वलाई खबरदारी गर्नुपर्ने थियो। त्यसैले यो धर्ना र खबरदारी चलिरहेको छ।’

नेता शिवाकोटीले पार्टीभित्रको कुरा मात्रै नभई यसले गठबन्धनभित्र समेत असर पर्ने बताउँदै गठबन्धन समेत सचेत हुनुपर्ने चेतावनी दिए।

उनले यो कांग्रेसभित्रको आन्तरिक विषय मात्रै नभई गठबन्धनका दलहरुबीचको पनि चासोको विषय भएको उल्लेख गरे। उनले पार्टी नेतृत्वले शेखर समूहको कुरा सम्बोधन नगरेको बताए। पत्रकार सम्मेलनबाट पार्टी प्रवक्ताले नोटिसमा लिएको बताएको भन्दै उनले जनताले निर्णय लिने तहमा नोटिस पुग्यो भने, अहिलेको यो टिमबाट एक जना पनि उम्मेदवार नहुने चेतावनी दिए। उनले त्यसको प्रतिक्रियाबारे पार्टी नेतृत्वले राम्रोसँग बुझेको बताए।

उनले ८/१० जना नेताहरुको व्यवस्थापनको कुरा नभई २०६२/६३ को जनआन्दोलन, त्यसभन्दा अघिका आन्दोलन र लामो समयसम्म त्याग बलिदान गरेका आम नेता कार्यकर्ताहरुलाई बाहिर राखेर केही नेताहरुको व्यवस्थापन मात्र गरेर केही नहुने बताए।

प्रतिक्रिया