चामलको भाउ बोरामै २ सय रुपैयाँसम्मले बढ्यो

विदुर खबर २०७९ असोज ५ गते ११:३८

नुवाकोट । दशैँमा नेपालीको भान्छा महँगो हुने भएको छ । अन्य खाद्यान्नसहित चामलकै भाउ उकालो लागेको छ ।

Advertisement

भारतले निर्यातमा कर बढाएपछि नेपाली व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् ।  पछिल्लो १ हप्तामा मूल्य बढेर चामल बजारमा आएको छ । जिरा मसिनो चामलको खुद्रा मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेको छ । बोरामा २ सय रुपैयाँसम्मले बढेको छ ।

खुद्रा व्यापारीहरुका अनुसार यसअघि १७ सय ५० रुपैयाँमा पाइने २५ किलो जिरा मसिनो चामलको भाउ अहिले प्रतिबोरा १९ सय ५० देखि ठाउँ अनुसार २ हजारसम्म पुगेको छ ।  एकैपटक बोरामा २ सयले भाउ बढेको यो नै पहिलो पटक हो ।

Advertisement

किराना व्यवसायीहरुले पनि चामलको भाउ बढेको बताएका छन् । उनीहरुलाई चामलको सिजन सकिएको नयाँ धान मंसिरमा मात्रै आउने भएकाले चामल कम मात्रामा उपलब्ध हुने भएकाले भाउ बढाउनु परेको उत्तर दिने गरिएको छ ।

अर्कोतर्फ, भारतले गत भदौ २३ मा चामल निर्यातमा कर बढाएपछि नेपालमा स्वभाविक रुपमा भाउ बढेको तर्क व्यवसायीहरुले गरेका छन् । तर, कर भारतले कर बढाएपछि चामलको आयात नै भएको छैन । आयात नै नभएपनि कर बढेको भन्दै नेपालका व्यवसायीहरुले आफूखुशी चामलको भाउ बढाएका छन् ।

Advertisement

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने दशैँ लक्षित बजार अनुगमनलाई तीव्रता दिने बताएको छ ।

प्रतिक्रिया