एकदिनको वर्षाले कैलाली डुबानमा, ४ हजार बढी घरपरिवार प्रभावित

विदुर खबर २०७९ असोज २ गते ८:२८

नुवाकोट । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण कैलाली डुबानमा परेको छ ।

Advertisement

लगातार भएको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारीअनुसार ४ हजार बढी घरपरिवार डुबानबाट प्रभावित बनेका छन् । भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन् । उता, जिल्लाको पहाडी क्षेत्र चुरे गाउँपालिकाका स्थानीयहरु भने पहिरोले प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको तथ्यांकमा सबैभन्दा बढी भजनी नगरपालिका डुबानमा परेको छ । भजनी नगरपालिकाको नगर क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ । नगरपालिकाले ९ वटै वडा डुबानमा परेको जनाएको हो ।भजनी नगरपालिकाका मेयर केवल चौधरीले नगरपालिकाको कुनै भाग पनि डुबानले नबचेको बताउँदै करिव ३ हजार घरधुरी डुबानमा परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘पूरै डुबान भएको छ । हामी उद्धारमा छौं । सबै वडामा उद्धारमा माग भइरहेकाले सबै निकायसँग गुहार गरिरहेका छांै । मैले सबै वडाहरुमा उद्धारको व्यवस्था गर्न निर्देशन दिएको छु ।’

Advertisement

स्थानीय पथरैया, काँढा, कान्द्रा र मोहना नदीमा आएको बाढीले सो क्षेत्र वर्षेनि डुबानमा पर्दै आएको छ । गत वर्ष बाढी आउँदा भजनी नगरपालिकामा ठूलो धनजनको क्षति भएको थियो । यसैबीच भजनी नगरपालिका–८ का ५५ वर्षीय कालुराम चौधरी बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । उनको खोजीका लागि प्रहरी खटिएका छन् । त्यहाँको वडा नम्बर ८ का सोनाफाँडा, दैलेखी टोल, भरतान टोल, मिलनपुर टोल र लालबोझीमा बढी डुबान भएको छ ।

यस्तै टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र लम्कीचुहाका अधिकांश वडा र बस्तीहरु डुबानमा परेका छन् । त्यहाँका अधिकांश क्षेत्रमा डुबान भएपछि सयौं घरपरिवार विस्थापित भएका हुन् ।यस्तै उता, कैलारी गाउँपालिकामा पनि डुबान भएको छ । कैलारीको वडा नम्बर ५ अन्र्तगत मनकापुर, बन्दरगौरी, बैजपुर, सपना शिविरसहित वडा नम्बर ७ को बर्का वसन्ता, छटकपुर बसन्ता, रामपुर, नारायणपुरलगायतका गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिनुभयो । कैलारीको कटैनी नदीमा आएको बाढीले डुबान भएको उहाँले बताउनुभयो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको हो । जिल्लास्थित कर्णाली, मोहना, खुटिया, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी विभिन्न बस्तीमा पस्दा डुबानको समस्या पैदा भएको हो । यस्तै अझै पनि नदीको जलस्तर बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो । पहाडी जिल्लातिर वर्षा भइरहेकाले तराईमा नदीहरुको पनि जलस्तर बढेको हो ।

कैलालीमा घरहरू डुबानमा परे पनि मानवीय क्षति भने भएको छैन । डुबानले केही पशुचौपाया र घरमा मात्रै क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । यस्तै शनिबार नै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्र्षीया नवीना चौधरी माछा मार्ने क्रममा स्थानीय झलारी नालामा डुबेर बेपत्ता भएकी छन् । बिहान गेटानजिक कल्भर्टबाट चौधरी बगेर बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनको खोजीका लागि सुरक्षा टोली परिचालन गरिएको छ ।

सुरक्षित स्थानमा स्थानान्तरण

डुबान प्रभावित स्थानीयलाई सुरक्षाकर्मीको संयुक्त टोलीले सुरक्षित क्षेत्रहरुमा सारेको छ । डुबानले घरमा पानी पसेपछि विस्थापित भएका स्थानीयलाई सामुदायिक भवन र आफन्तकोमा सारिएको हो । डुबेकाहरुलाई प्रशासनले उद्धारका लागि तेघरी ब्यारेक र सशस्त्र प्रहरी कार्यालयबाट सुरक्षाकर्मी परिचालन गरेको थियो । यस्तै अविरल वर्षाका कारण पहिरो गएर भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । चुरे गाउँपालिका–५, ६ स्थित चारपाँच ठाउँमा स–साना पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । कैलालीमा हिजो २४ घण्टामा १६४ मिलिलिटर वर्षा भएको थियो ।

प्रतिक्रिया