रसुवामा निर्माणधिन सुक्खा बन्दरगाहको भौतिक प्रगति ३५ प्रतिशत मात्र
नुवाकोट । गएको वैशाखमै निर्माण सम्पन्न भइसक्नु पर्ने सुक्खा बन्दरगाहको भौतिक प्रगति अहिलेसम्म ३५ प्रतिशत मात्र छ ।
सुक्खा बन्दरगाह गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा ३० महिनामा सक्ने लक्ष्यसहित ०७६ मंसिर ४ मा शिलान्यास भएको थियो । हालसम्म भोटेकोसी नदी किनारमा रिटेनिङ वाल लगाउने र माटो ताछ्ने काम मात्र भएको छ ।
बन्दरगाहको बाँकी काम ठप्प छ । निर्माणस्थलमा कामदार र ठेकेदार कोही पनि देखिँदैनन् । कुनै जानकारी नै नदिई काम छाडेर चिनियाँ कम्पनीका प्रतिनिधि र कामदार चीन फर्किएको इन्टरमोडल यातायात विकास समितिले बताएको छ ।
०७६ मंसिर ४ मा वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव पार्वती अर्याल र इन्टरनेसनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ तिब्बतको कर्मस डिर्पामेन्ट अफ चाइनाका निर्देशक बियन चेनले बन्दरगाहको शिलान्यास गरेका थिए । तर, ६ महिनाअघि नै इन्टरमोडल यातायात विकास समिति र तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच निर्माण सम्झौता भएको थियो । बन्दरगाह रसुवागढी नाकाबाट २.५ किमि वर टिमुरेमा निर्माण भइरहेको छ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग रहेको छ । नेपाल– चीन सम्झौताअनुसार चिनियाँ पक्षले बन्दरगाह निर्माण गरी नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ ।
बन्दरगाह निर्माणको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन छ । बन्दरगाह आधुनिक, सुविधासम्पन्न र अन्तर्राष्ट्रियस्तरको हुनेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ तिब्बत अटोनोमस रिजन कम्पनीले बन्दरगाहको लागत अनुमानसहितको डिजाइन तयार पारेको थियो । उक्त डिजाइनलाई दुवै मुलुकका प्रतिनिधिले सन् २०१८ जनवरी १५ मा छेन्दुमा आयोजित कार्यक्रममा स्वीकृत गरेका थिए ।
तर, अहिले न निर्माणस्थलमा काम भइरहेको छ, न म्याद थपको कुनै प्रक्रिया नै अघि बढेको छ । निर्माण कम्पनीका प्रतिनिधि र कामदार चीन गएको सम्बन्धमा समितिले निर्माण कम्पनी र त्यसका प्रतिनिधिलाई सम्पर्क गरेको जनाएको छ । ‘कोरोना महामारीका कारण ३ वर्षसम्म घर जान नपाएको भन्दै निर्माण कम्पनीका कर्मचारी र कामदार चीन फर्केको बताइएको छ,’ समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘तर उनीहरू समतिलाई जानकारी नदिई गएका हुन् ।’ यसबारे वाणिज्य मन्त्रालयलाई जानकारी गराइसकेको उनले बताए ।
नेपाल र चीनबीच हुने द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्नु बन्दरगाहको मुख्य उद्देश्य छ । बन्दरगाहको क्षेत्रफल ८.५ हेक्टर छ । जहाँ ५ हजार वर्गमिटरको सुविधासम्पन्न ५ तले जाँचपास भवन निर्माण हुने सम्झौतामा उल्लेख छ । भवनमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायत कार्यालयहरू रहनेछन् । बन्दरगाहमा ३ सय ५० वटाभन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरी पार्किङस्थल निर्माण हुने गजुरेलले बताए । ‘दुई वटा जाँचपास कक्ष, कार्गो गोदाम, लिटिगेसन गोदामसहितको आधुनिक सुविधा सम्पन्न सुक्खा बन्दरगाह निर्माण हुनेछ,’ उनले भने । रसुवागढी नाका हुँदै आयातनिर्यात हुने वस्तुको जाँचपास यसै बन्दरगाहमार्फत हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया