रसुवाका कृषकले गरे चौँरी गाईको दूध बेचेरै लाखौँ आम्दानी,बजारको माग धान्न मुस्किल

विदुर खबर २०७९ भदौ २९ गते ७:२९

रसुवा । गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे निवासी सेनाम नुर्पु घले एक सफल चौँरी गाई पालक कृषक हुन् । उनले यो पेशा अंकालेको झन्डै ४१ वर्षभन्दा बढी नै भयो । तर, पनि उनले चौँरी पालनलाई अझैँ निरन्तरता दिएकै छन् ।

Advertisement

यो उनको पुख्र्यौली पेशा हो । घलेले चौँरी पालन पेशा अंगाल्नुभन्दा पहिले उनका बाआमा यहीँ पेशामा संलग्न थिए । बाआमाको लोभ लाग्दो चौँरी पालनले उतिबेला नै सबैको ध्यान केन्द्रित गरेको थियो । तर, त्यो समयमा बजारीकरणको अभाव र दूध बेच्ने चलन नभएकोले घलेका बाआमाले चौँरीको गोठालो गर्नेबाहेक अरू केहीँ गर्न सकेनन् । त्यो बेलाको समय र परिस्थिति पनि त्यस्तै थियो ।

संयोग भनौँ, सेनाम नुर्पु घले बाआमाको काखमा भन्दा चौँरीको गोठमा बिताएका कयौँ दिन रात सम्झिन्छन् । चौँरीसँगै अग्ला पहाडका ढिस्कुना र घाँसे मैदानमा गाई चराएको, अग्ला–अग्ला रुखमा चढेर घाँस काटेका दिन घलेका आँखै अगाडि आउँछन् । तथापि आज पनि उनी तिनै पहाड, हराभरा घाँसे मैदानमा चौँरी लिएर पुग्छन् र आफ्नो शैशव सम्झिन्छन् ।

घले कहिलेकाहीँ आगतभन्दा विगत सम्झेर पछुतो मान्ने गर्छन् । चौँरी पालन र गोठालो गर्दै–गर्दा पढाइ छुट्यो । तर, पनि केही छैन भन्दै उनी चौँरीको मायामा लोभिन्छन् । चौँरीलाई नै सबैथोक ठान्दै विगत भुलिदिन्छन् । उनी अर्को कुरा पनि सम्झिन्छन्, ‘सँगैका साथीभाइ विदेश हानिए, पैशा कमाए । फेरि यो कुरालाई पनि घले बिर्सी दिन्छन् र आफ्नै चौँरी गाई पालनलाई प्राण ठान्छन् ।’
Advertisement

घलेका बाआमाले चौँरी पालन गर्दै–गर्दा थोरै संख्यामा थिए । यतिबेला उनी ४१ वटा चौँरीको बथानका मालिक छन् । शुरुमा ९ वटा चौँरी पालनबाट शुरु गरेका घलेसँग यतिबेला ४१ वटा चौँरी हुँदा साँच्चिकै आफ्नो पेशाप्रति उनी गर्व गर्छन् ।

४१ वटा चौँरीमध्ये केही दुहुना छन् । ती दुहुना चौँरीको दूध दुहेर बजारको माग धान्न घलेलाई हम्मेहम्मे परेको छ । दैनिक ३७ लिटर दूध बजार पठाएर पनि माग धान्न नसकेर उनी हैरान छन् । दूध बेचेरै घलेले वार्षिक पाँच लाखभन्दा बढी कमाउँछन् ।

Advertisement

यद्यपि अन्य गाईको तुलनामा चौँरी गाईको सिजन बेग्लै हुनेगर्छ । यो सबै ठाउँको हकमाभन्दा पनि विशेष गरी रसुवाको हकमा लागु हुन्छ । बैशाख, जेठ, असार, साउन, भदौ र असोज महिनासम्म चौँरीले दूध दिने गर्छ । बाँकी महिना चरण र जाँडो छल्नमै उसलाई ठिक्क हुन्छ भने यो समयमा दुग्धजन्य पदार्थबाट बन्ने परिकार जस्तै छुर्पी प्रशस्त पाइन्छ । त्यो पनि बजारमा नै पुग्ने गर्छ ।

बैशाखदेखि असोजसम्म चौँरीले दिने दूध गर्छ । दूध सबै दुग्ध विकास संस्थानमा बिक्री हुने घले बताउँछन् । बजारका अन्य डेरी व्यवसायीहरू पनि दैनिक नआउने होइन । तर, संस्थानको मागले बजार पुर्याउन थप समस्या भएको घले बताउँछन् ।

यहाँका चौँरीका लागि समायानुकूल वा मौसमअनुसारको ठाउँ चाहिन्छ । वर्षातको समयमा गोसाईकुण्ड छेउमा ६ महिनासम्म बसाउनुपर्छ भने जाँडो मौसममा धुन्चे वरपरका ठाउँमा सार्नुपर्ने हुन्छ । उनले मारमेन्दो व्यवसायी चौँरी पालन दर्ता गरेर पाँच लाखबाट सुरू गरेको यो व्यवसाय अहिले करोडौँमा पुगेको छ ।

जिल्ला भर एक सयभन्दा बढी चौँरी गोठ रहेको र धुन्चे क्षेत्रमा चाहिँ १५ वटा गोठ रहेका छन् । कोभिडका कारण एक डेढ वर्ष गाह्रो भएको थियो । अहिले सामान्य छ ।

घले भन्छन्, ‘जहाँ गए पनि दुःख नगरी सुख पाइँदैन । पढ्न पाएको भए त डाक्टर इन्जिनियर भएर टन्न पैशा कमाउथेँ होला । तर, घरको आर्थिक अवस्थाले पढन पाइएनँ । आफू नपढेँ पनि यहीँ व्यवसायबाट राम्रो कलेजमा आफ्ना सन्तालाई पढाएको छु । उनीहरूले पढे केही त होला ।’

प्रतिक्रिया