देशभर फैलियो डेंगु, सात जनाको मृत्यु

विदुर खबर २०७९ भदौ २७ गते २०:३५

नुवाकोट । साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ ।

Advertisement

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् ।

‘अहिलेसम्म डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ,’ ती कर्मचारीले  भने,‘ सातमध्ये तीन जनामा डेंगुसँगै अन्य दीर्घरोग पनि छ ।’

Advertisement

मृत्यु भएका निर्सग अस्पतालमा ३५ बर्षीया महिला, कान्ति बाल अस्पतालमा तीन बर्षीया बालिका, नेपाल मेडिसिडी अस्पतालमा ३८ बर्षीया महिला, भेरी अस्पतालमा १२ बर्षीया बालिका रहेका छन् । त्यसैगरी, चितवन मेडिकल कलेजमा २५ बर्षीया महिला, ग्राण्डी र समेरू अस्पतालमा डेंगु संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ ।

सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या मात्र हेर्दा पनि साउनयता ८ हजार ३२७ जना डेंगुको चपेटामा परेका छन् ।

Advertisement

महाशाखाकाको तथ्यांक अनुसार साउनयता सबैभन्दा बढी बागमती प्रदेशमा ६,२०५, लुम्बिनीमा प्रदेशमा १,२८४, प्रदेश १ मा २८२, सुदुरपश्चिम प्रदेशमा २०६ जनामा डेंगु पुष्टि भएको छ ।त्यसैगरी, गण्डकीमा १५०, मधेशमा १४४ र कर्णाली प्रदेशमा ५६ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार सन् २००५ मा डेंगु पुष्टि भएको रेकर्ड छैन भने सन् २००६ देखि सन् २०२१ सम्ममा २५ हजार ९६७ जनामा डेंगु पुष्टि भइसकेको छ ।

काठमाडौं उपत्यका सहित सबै जिल्लामा डेंगु देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले रोकथाम तथा नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय र छलफल गरेको जनाएको छ । यस्तै, डेंगु प्रभावित जिल्ला तथा स्थानीय तहहरुमा डेंगुको अनुसन्धान र लार्भा नष्ट तथा सचेतनामूलक गतिविधि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्राय दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया