शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत लैजान श्रम सम्झौता
नुवाकोट । बेलायतले आफ्नो नागरिकसरह नै सेवा सुविधा दिने गरी नेपाली स्वास्थ्यकर्मी लैजाने सहमति गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालका लागि राजदूत निकोला पोलिटबीच यसबारे सोमबार समझदारीमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार लैजानेहरूलाई भर्नाको प्रक्रिया भने सरकारी संयन्त्रमार्फत गरिनेछ, तेस्रो पक्षको संलग्नता रहने छैन । श्रम मन्त्रालयका सहायक प्रवक्ता थानेश्वर भुसालका अनुसार ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ बनेपछि पहिलो चरणमा नर्सहरू पठाउन सुरु गरिनेछ । पहिलो चरणमा लैजाने नर्सको संख्या भने सार्वजनिक गरिएको छैन ।
दुवै देशको सहमतिअनुसार संख्या निर्धारण हुने जनाइएको छ । ‘नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवामा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइनेछ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने समझदारी छ ।’
स्वास्थ्यकर्मीको छनोट र पदस्थापना गर्न वैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी निकायको प्रक्रियाबमोजिम हुने मन्त्रालयले जनाएको छ । यो प्रक्रिया अगाडि बढाउन छिट्टै छनोट कार्यविधि बनाइने भुसालले बताए । बेलायत जानका लागि स्वास्थ्यकर्मीले सेवा शुल्क बुझाउन पर्दैन ।
मन्त्रालयका अनुसार ५ थरीका स्वास्थ्यकर्मी (एएनएम, बीएन, स्टाफ नर्स, बीएससी र एमएन) लाई बेलायतले लैजानेछ । छनोटमा परेका नर्सले ५ वर्ष काम गरेपछि स्वदेश फिर्नुपर्नेछ । जुनसुकै पदमा गए पनि बेलायतको लाइसेन्स नलिएसम्म भने सहायक नर्सका रूपमा काम गर्नुपर्नेछ । लाइसेन्स लिनका लागि तीन पटकसम्म परीक्षा दिन पाउने र त्यो निःशुल्क हुने व्यवस्था मिलाइएको भुसालले बताए ।
बेलायत रोजगारीका लागि नेपाली स्वास्थ्यकर्मीको योग्यता तोकिएको छ । योग्यता पुगेका महिला तथा पुरुष सबैले आवेदन गर्न सक्नेछन् । स्वास्थ्यकर्मीको उमेर २० देखि ४५ वर्षबीचको तोकिएको छ । स्टाफ नर्सका रूपमा काम गर्दै आएको, नर्सिङमा स्नातक उत्तीर्ण वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर भएको हुनुपर्नेछ ।
नेपाल नर्सिङ काउन्सिलबाट व्यावसायिक लाइसेन्स लिएको र कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । अंग्रेजी भाषा परीक्षामा कम्तीमा ६.५ नम्बर ल्याउनुपर्नेछ । स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासँग सम्बन्धित सम्पूर्ण जानकारी श्रम मन्त्रालयको वेबसाइटमा राखिनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया