यसरी छिचोलियो धुन्चे-स्याफ्रु सडकखण्डको खोपाङभीर

विदुर खबर २०७५ भदौ १८ गते २:०३

रसुवा- अविरल वर्षासँगै आएको पहिरोले भासिएको धुन्चे-स्याफ्रु सडकखण्डको खोपाङभीर छिचोलिएको छ। करिब तीन साताअघि भासिएको सडकको सडक डिभिजन कार्यालय र नेपानी सेनाले छिचोलेको हो।

दुई सातामा सडक सुचारु हुने अनुमानका साथ काम सुरु गरेको टोलीले तीन दिनमा सडक छिचोलेको नेपाली सेनाको कालीजंग गणका गणपति शीतल बानियाँले बताए। दक्ष प्राविधिक परिचालन भएका कारण सोचेभन्दा चाँडै सडक सुचारु भएको उनको भनाइ छ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका ५ खोपाङभीरमा आइतबार ब्लास्टिङ गर्दा माथिको पहरा झरेर खोलामा बेस बसेको छ। जसका कारण सोमबारबाटै सवारी सञ्चालन गर्न सकिने गणपति बानियाँले बताए। सदरमुकाम धुन्चेस्थित खोपाङभीर रहेको त्रिशूली खोलाको पहिरो पन्छाएर भदौ १५ गतेदेखि नेपाली सेना र डिभिजन सडक कार्यालयको टोलीले काम सुरु गरेका थिए।  सडक डिभिजन कार्यालय, मैलुङ स्याफ्रु निर्माण कार्यदल र नेपाली सेनाले सडक सुचारु गर्नका लागि बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म निरन्तर काम गरेका थिए।

कार्यस्थलमा कालीजंग गणका गणपति बानियाँ, मेजर प्रेम तामाङ, क्याप्टेन सुनिल श्रेष्ठ, डिभिजन सडक कार्यालयका इन्जिनियर लगायतले दैनिक निरीक्षण गर्दै आएका थिए। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।

प्रतिक्रिया