कांग्रेसको चुनावलक्षित अभियान भदौ १० देखि

विदुर खबर २०७९ साउन २८ गते १६:१६

नुवाकोट ।  सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित जनलहर सिर्जना गर्ने १५ दिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ ।

Advertisement

शनिबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले बताए ।

‘यसअघि स्थानीय तहको सम्मुखमा कांग्रेसले घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान सञ्चालन गरेको थियो, त्यस्तै प्रकृतिको अभियान फेरि सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यसअघि भदौ २ देखि २४ गतेसम्म सञ्चालन गर्नेभन्ने केन्द्रीय समिति बैठकको तयारी थियो । तर, प्राविधिक कारणवश त्यसलाई स्थगित गरेर १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।’

Advertisement

बैठकले अभियानका लागि केन्द्रीय समितिबाट प्रतिनिधि तोक्ने समेत निर्णय गरेको छ । तर, कुन जिल्लामा कसलाई पठाउने भन्ने टुंगिएको छ ।

शनिबारको बैठकले आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दर्ता गर्ने निर्णय गरेको छ । बैठकले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई आयोगमा दल दर्ता गर्ने अख्तियारी दिएको हो ।

Advertisement

‘कानुनमै पार्टीको केन्द्रीय कार्यकारी समितिको निर्णय संलग्न हुनुपर्ने व्यवस्था छ । त्यहीकारण यो बैठकबाटै दल दर्ता गर्ने निर्णय गरिएको हो,’ नेता अर्जुननरसिंह केसीले भने, ‘आजको बैठकमा खाली पार्टीभित्रको आन्तरिक व्यवस्थापनको कुरा मात्रै भयो, अरु राजनीतिक विषयमा कुनै छलफल भएन ।’

उनका अनुसार बैठकले साउन ३० र ३१ गते काठमाडौंमा गर्ने तयारी भएको स्थानीय तहका जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत छलफल भएको छ ।

‘हामीले देशभर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौंमा स्वागत गर्ने र बधाईसहित अभिमुखीकरण गर्ने कार्यक्रम राखेका छौँ,’ उनले भने, ‘पार्टीको सचिवालयले त्यसको तयारी गरेको छ । बैठकले त्यही तयारीलाई स्वीकृत गरेको छ ।’

प्रतिक्रिया