निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्नाको प्रस्ताव
नुवाकोट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्नाको प्रस्ताव गरिएको छ ।
मंसिर ४ का लागि तोकिएको निर्वाचन सुरक्षार्थ प्रहरी प्रधान कार्यालयले म्यादी भर्नाको प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको हो । म्यादी प्रहरीको कार्यअवधि ४० दिन राख्न पनि प्रस्ताव गरिएको छ ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गएको स्थानीय तह निर्वाचनमा भन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्न आवश्यक देखिएको र सोही अनुसार संख्या निर्धारण गरेर गृह मन्त्रालयमा पेस गरिएको बताए । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतपेटिका छुट्टाछुट्टै हुने भएर त्यसको सुरक्षामा म्यादीको संख्या पनि बढाउनुपर्ने देखिन्छ ।’ यसअघिका निर्वाचनमा खटिएका म्यादी र पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिने उनको भनाइ छ ।
आगामी निर्वाचनमा सेना, प्रहरी र सशस्त्र प्रहरीका पौने २ लाख सुरक्षाकर्मी खटाउने गरी सुरक्षा निकाय आ–आफ्ना कार्ययोजना निर्माणमा जुटेका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचन सुरक्षामा ७१ हजारभन्दा बढी सेना, करिब ६२ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल (एपीएफ) र १ लाख म्यादी प्रहरी खटाइएको थियो । जवानको मासिक आधारभूत तलबमान २२ हजार ६ सय ६० रुपैयाँका आधारमा म्यादीका लागि ४० दिनको एकमुष्ट ३० हजार २ सय ४० रुपैयाँ, पोसाकभत्तावापत ६ हजार रुपैयाँ, रासन भत्ताबपत एकमुष्ट ७ हजार २ सय रुपैयाँ र यातायात भाडाबाट एक पटकका लागि १ हजार रुपैयाँ उपलव्ध गराउने गरी सुविधा निर्धारण गरिएको थियो । आगामी निर्वाचनमा पनि त्यसलाई नै आधार मानेर म्यादी भर्ना गर्न प्रहरीको प्रस्ताव छ ।
साउन १ बाट सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएका कारण म्यादीको तलब पनि सोहीअनुसार निर्धारण हुनुपर्ने उल्लेख छ । वृद्धि तलबमानअनुसार जवानको मासिक आधारभूत तलब ३ हजार ३ सय ९९ रुपैयाँ वृद्धि भएर २६ हजार ५९ रुपैयाँ पुगेको छ । प्रस्तावित संख्याअनुसार म्यादी भर्ना भए १ लाख २० हजार म्यादीका लागि एक महिनाको पारिश्रमिकमा मात्रै ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ । रासनभत्ता, पोसाक सुविधालगायत जोड्दा ४० दिनका म्यादीका लागि मात्रै पौने ६ अर्ब रुपैयाँ जति खर्च हुनेछ ।
गृह मन्त्रालयका अनुसार गत स्थानीय चुनावमा १ लाख, आम निर्वाचन २०७४ मा करिब ९८ हजार र त्यही वर्षको स्थानीय निर्वाचनमा ७५ हजार तथा २०७० मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना भएका थिए ।
यसैबीच, निर्वाचन सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्रले केन्द्रदेखि जिल्ला तहसम्मै निर्वाचन सेल गठन गरेका छन् । प्रहरी प्रधान कार्यालयले कार्य विभाग प्रमुख सहकुलबहादुर थापा र सशस्त्र प्रहरीले कार्य तथा सीमा विभाग प्रमुख चन्द्रप्रकाश (सीपी) गौतमको नेतृत्वमा सेल बनाएका हुन् । केन्द्रीय निर्वाचन सेल मातहत दुवै निकायले सात प्रदेश र उपत्यकास्थित आफ्ना संयन्त्रसँगग समन्वय गर्न छुट्टाछुर्ट्टै डेस्क गठनको तयारी छ ।
नेपाली सेनाले पनि सुरक्षा तयारी र व्यवस्थापनको काम अघि बढेको जनाएको छ । ‘हालै सम्पन्न स्थानीय तह र यसअघिका आम निर्वाचनको समेत अनुभवलाई आधार मानेर तयारी भइरहेको छ,’ प्रवक्ता सहायकरथी नारायण सिलवालले कान्तिपुरसँग भने, ‘सरकारबाट उपयुक्त समयमा निर्णय हुनेबितिकै जिम्मेवारी र कार्यक्षेत्रमा तैनाथ हुन्छौं ।’
सेनाले निर्वाचन सुरक्षा तयारीका लागि युद्धकार्य महानिर्देशक (उपरथी) को नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठनको तयारी गरेको छ । यसबाहेक निर्वाचन सुरक्षा कार्ययोजनाको मस्यौदा निर्माण गर्न गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित संयन्त्र गठन गरिसकेको छ । निर्वाचन आयोगले पनि आयुक्त इश्वरी पौडेलको संयोजकत्वमा निर्वाचन सुरक्षा उच्चस्तरीय समिति बनाएको छ । सोही समितिले गृह र रक्षा मन्त्रालय तथा चारवटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचन सुरक्षा व्यवस्थापनसम्बन्धी समन्वय र सहजीकरण तथा कार्ययोजना बनाउनेछ
त्यसपछि मतदान स्थल, मतदान केन्द्र, सुरक्षा अवस्था र त्यसका आधारमा जोखिमको विश्लेषण गरी सुरक्षाकर्मी परिचालनको खाका बन्नेछ । त्यसअघि गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिले सुरक्षा योजना स्वीकृत गरी मन्त्रिपरिषद्बाट अनुमोदन गराएर निर्वाचन आयोगलाई पठाउने अभ्यास छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन





प्रतिक्रिया