रसुवाको गोसाईंकुण्डमा पाप पखाल्नेको भिड
नुवाकोट । प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्ड पुगेर शुक्रबार हजारौं भक्तजनले कुण्ड स्नान गरेका छन् । श्रावण शुक्लपूर्णिमा (जनैपूर्णिमा) का दिन कुण्डमा स्नान गर्ने श्रद्धालुहरूको भीड लागेको छ ।
शुक्लपूर्णिमामा भने कुण्डमा विशेष मेला लाग्ने गर्दछ । गोसाईंकुण्ड समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-५ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ ।
नागपञ्चमीको दिनदेखि साउन शुक्लपूर्णिमाको दिनसम्म गोसाईंकुण्ड स्नानका लागि भक्तजनहरू यहाँ आउने गर्दछन् । कुण्डमा मेला भर्न स्थानीय तथा नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, गोरखा, चितवन, नवलपरासी, काठमाडौंलगायत देशैभरका हिन्दू तथा बौद्ध धर्मालम्वीहरू गोसाईंकुण्डमा आउने गर्दछन् ।
पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानव समुद्र मन्थन गर्दा समुद्रबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाईंबाबा (भगवान शिव) ले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशुल धाराको उत्पति भई उक्त धाराको पानीबाट गोसाईंकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
कुण्डमा स्नान गरी गोसाईंबाबाको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने; पितृ तर्ने र आफूले चिताएका सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् । जनैपूर्णिमाका दिन कुण्डमा पूजाआजा तथा स्नान गर्दा मनमा आनन्द हुने भक्तजनहरूमा विश्वास रही आएको छ । प्रत्येक वर्ष गंगादसहरा र जनैपूर्णिमा गरी वर्षको २ पटक मेला लाग्ने गर्दछ ।
यस ठाउँ धार्मिक एवं पर्यटकीय क्षेत्र भएकाले वर्षभरि नै विदेशी तथा स्वदेशी पर्यटकहरुको आगमन भइरन्छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा अवस्थित जैविक विविधताले भरिपूर्ण गोसाईंकुण्डलगायत वरपरका अन्य कुण्डहरूलाई २०६४ साल असोज ६ गते रामसार साइटमा सूचीकृत गरिएको छ । गोसाईंकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायत करिब १०८ वटा कुण्ड रहेको बताइन्छ ।
यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस‚ लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पती र चराहरू रहेका छन् । कुण्ड नजिकै अमरसिंह गुफासमेत रहेको छ । यात्राको क्रममा घट्टेखोला, देउराली, डिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडाजस्ता स्थानहरूबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यस पटक कुण्ड स्नान गर्न १० हजारभन्दा बढी भक्तजन आएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया