काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन जटिल बन्दै

विदुर खबर २०७९ साउन २७ गते ८:४५

नुवाकोट । सरकारले फोहोर मैला व्यवस्थापनदेखि विसर्जन गर्नेसम्मको कार्यलाई सार्वजनिक हितकालागि आवश्यक क्षेत्र भन्दै हड्ताल गर्न नहुने निषेधित क्षेत्रभित्र पारेको छ । तर, सोही सेवामा महिनौंदेखि आंशिकबाहेक अधिकांश समय हड्ताल भइरहेको छ ।

Advertisement

फोहोर मैला व्यवस्थापनदेखि विसर्जनसम्मको कार्यलाई हड्ताल गर्न नहुने गरी निषेधित क्षेत्रमा राखिए तापनि त्यसलाई नियन्त्रण गर्न गृह प्रशासन असफल देखिएको छ ।

सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचनाको १४ औं बुँदामा फोहोर मैलाको संकलन, ढुवानी, प्रसोधन, विसर्जन स्थान, निर्माण, पूर्वाधार निर्माण र संकलन तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित क्षेत्र पनि उल्लेख छ ।

Advertisement

यी २५ क्षेत्रमा कुनै पनि किसिमको हड्ताल गरे सरकारले तत्काल पक्राउ गरी कारबाही गर्न सक्छ । तर,पनि सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटमा भएको हड्ताल रोक्न सकिरहेको छैन ।

१७ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने गरिएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा ४ दिन अघिदेखि फोहोर विसर्जन हुन सकेको छैन । सोमबार राती आक्रोशित स्थानीयले काठमाडौं महानगरपालिकाको दुई चेन डोजर र एक जेट मेसिनसहित फोहोर बोक्ने १७ वटा सवारी साधनमा तोडफोड गरेको थियो ।

Advertisement

उक्त तोडफोडपछि आक्रोशित भएका फोहोर मैला संकलन गर्ने निजी कम्पनीका सवारी चालकले जिउज्यानको सुरक्षा हुनुपर्ने, तोडफोड भएका सवारी साधनको क्षतिपूर्ति र तोडफोड गर्नेमाथि कारबाही गर्नुपर्ने माग राखी ल्यान्डफिल साइटको बाटो अवरुद्ध पारेका छन् । उनीहरूले पुल र बाटोमा गाडी तेस्र्याएर धादिङबाट आएका दर्जनौं फोहोर बोकेका दर्जनौं गाडीलाई बिचैमा रोकेका छन् ।

फोहोर विसर्जनमा भएको अवरोध बारेमा जानकारी लिन बिहीबार दिउँसो ल्यान्डफिल साइट पुग्नु भएका कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले निजी सवारी चालकले अवरोध गरेको कारण फोहोर लैजान नसकिएको बताउनुभयो । उहाँले सबै चालकसँग वार्ता गर्दासमेत समस्या समाधान हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले पटकपटक प्रयास गर्दासमेत समस्या समाधान हुन सकेन । तैपनि माग सम्बोधन गर्ने विषयमा कुराकानी भइरहेको छ । सावारी साधनतोडफोड गर्नेमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाइसकेको र क्षतिपूर्ति दिने लगायतका विषयमा छलफल भइरहेको छ ।’

पहिला स्थानीयको अवरोध, अहिले निजी सवारी चालकको अवरोधको कारण फोहोर व्यवस्थापन जटिल बनिरहेको छ । उता फोहोर व्यवस्थापन गर्न नसकेर राजधानी दुर्गन्धित भइरहेको अवस्थामा स्थानीयले टेकु ट्रान्सफर स्टेसन बन्द गरेका छन् । उनीहरूले कुनै पनि अवस्थामा टेकुमा फोहोर ल्याउन नहुने अडान राखेका छन् ।

टेकुस्थित ट्रान्सफर स्टेसनसमेत बन्द भएपछि फोहोर संकलन पूर्ण रूपमा रोकिएको छ । कामपा वातावरण व्यवस्थापन विभाग ल्याडफिल साइट इन्जिनियर सरकार दीप श्रेष्ठले सोमबारदेखि फोहोर संकलन र ढुवानी पूर्ण रूपमा बन्द भएको जानकारी दिनुभयो ।

फोहोरको कारण टेकु क्षेत्र पूर्ण दुर्गन्धित भएको छ । फोहोर संकलन हुन नसकेको कारण उपत्यकाको प्रायः सबै सडक, गल्ली र चोक पूर्ण रूपमा फोहोरले भरिएको छ ।

प्रतिक्रिया