काठमाडौं उपत्यकाका ४२ जनामा हैजा पुष्टि

नुवाकोट । काठमाडौं उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको हो ।
मन्त्रालयका अनुसार ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल तीन जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पहिलो पटक असार २ गते बागबजारका दुई जनामा हैजा देखिएको थियो । त्यसपछि डिल्लीबजार, सानेपा, कपन, बोहराटार, गोकर्णेश्वर, कागेश्वरी मनहरा, बुढानीलकण्ठ, ढल्कु, टेकु, त्रिपुरेश्वर र ताहाचलमा लगायतका स्थानमा हैजाका संक्रमित भेटिएका छन् ।
हैजा संक्रमितमध्ये १४ वर्षमुनिका ६ जना बालबालिका, ३६ जना १५ वर्षमाथिका रहेका मन्त्रालयको तथ्यांक छ ।
चिकित्सकका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । हैजाको प्रमुख कारण पिउने पानी र खानेकुरा नै मानिन्छ ।
प्रतिक्रिया