रसुवागढी पुग्ने सडकमा खाल्डा र पहिरोले यात्रुलाई सास्ती

विदुर खबर २०७९ साउन २२ गते ९:३५

नुवाकोट ।   रसुवाको स्याउबारीदेखि धुन्चे, स्याफ्रु हुँदै रसुवागढीसम्म पुग्दा ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण हुने गरेको कन्टेनर चालक रामशरण आचार्यले बताए ।

Advertisement

ठाउँठाउँमा परेका खाल्डाखुल्डीले उत्तरी चिनियाँ नाका रसुवागढी पुग्ने सडकमा यात्रुलाई सास्ती खेप्नुपरेको छ । स्याफ्रुबेसी–रसुवागढी खण्डमा पहिरोका कारण पनि वर्षात्को समयमा यात्रा झनै कठिन बनाएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डमा झरिरहने पहिरोले आङसिरिङ हुने उनले बताए ।

गत बुधबार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ खोलाको पहिरोमा माथिबाट झरेको ढुंगाले स्कोरपियोमा क्षति पुगेको थियो । पासाङल्हामु मार्गको स्याउबारीदेखि धुन्चे हुँदै स्याफ्रुसम्मको सडक खण्ड समयमै मर्मत नहुँदा जीर्ण हुँदै गएको छ । पासाङल्हामु मार्गको बेत्रावतीदेखि स्याफ्रुसम्म २०६८ सालमा कालोपत्र भएको हो । तर अहिले कालोपत्र भत्किएर बनेको खाल्डाखुल्डी नपुरिँदा र पहिरो गएको ठाउँहरूमा मर्मत नहुँदा सडक जीर्ण बनेको हो ।

Advertisement

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीसम्म पुग्ने सडक पनि यही नै हो । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । यो सडकमा दैनिक सयौं सवारीसाधन आवतजावत हुने गरेको छ । पासाङल्हामु मार्ग सिंगल लेनको सडक हो । साँघुरो सडक ठाउँठाउँमा परेका खाल्डाखुल्डी र पहिरोको कारण तहसनहस छ । सडक मर्मत तथा सुधारमा सम्बन्धित निकायले चासो नदिँदा सडक जीर्ण बन्दै गएको स्थानीयले बताए । उक्त सडक सदरमुकाम जोड्ने सडक पनि हो । सडक जीर्ण हुँदै गएपछि यो खण्डको यात्रा निकै जोखिमपूर्ण बनेको छ ।

साँघुरो सडक ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि पासिङ जोन नहुँदा चालकले अनेकौं समस्या झेल्नुपरेको छ । सडकको बीचबाटोमै पुगेर ट्रक तथा कन्टेनरहरू बिग्रन्छ, साइड दिने ठाउँ हुँदैन । ‘घण्टौंसम्म जाम हुने गरेको छ । साँघुरो भीरको बाटोबाट गाडी चलाउनुपर्दा ज्यानकै बाजी थाप्नुपर्छ,’ चालक दुखेसो पोख्छन् ।

Advertisement

स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति गर्ने काम अझै सुरु हुन सकेको छैन । चीन सरकारको अनुदानमा स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड स्तरोन्नति हुन लागेको हो । ३४ महिनाअघि गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा औपचारिक रूपमा सडक स्तरोन्नतिको सुरुवात गरिएको थियो । चाइना तिब्बत टिनालु कम्पनी लिमिटेडले सडक स्तरोन्नति गर्ने जिम्मा पाएको छ ।

सडक स्तरोन्नति गर्ने जिम्मा पाएको निर्माण कम्पनिका कर्मचारी नआउँदा काम सुरु हुन नसकेको आयोजनाले बताएको छ । कोरोनाका कारण कम्पनीका कर्मचारी अहिलेसम्म नआउँदा स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड स्तरोन्नति गर्न ढिलाइ भएको गल्छी–त्रिशूली– मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका आयोजना प्रमुख निरज शाक्यले बताए ।

स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको लम्बाइ करिब १५.८ किलोमिटर छ । यो सिंगल लेनको कच्ची सडक हो । स्तरोन्नतिपछि उक्त सडक कालोपत्रसहित डबल लेनको हुनेछ । चीन सरकारले सडक स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । अहिले सञ्चालनमा रहेको स्याफ्रुबेसी–रसुवागढी सडक पनि चीन सरकारले नै निर्माण गरिदिएको हो ।

स्तरोन्नति सुरु गरेको ३९ महिनामा सम्पन्न गर्ने चिनियाँ पक्षले बताएको छ । पासाङल्हामु मार्गको स्याउबारीदेखि धुन्चे सडक खण्डको केही ठाउँमा भने ढलान गर्ने काम भएको छ ।

प्रतिक्रिया