सेनाद्वारा तीर्थयात्रीकोे उद्धार

विदुर खबर २०७५ भदौ १२ गते ५:३०

रसुवा  गोसाईँकुण्ड जाँदा लेक लागेर बिरामी परेका आठ यात्रुलाई नेपाली सेनाले बोकेर उद्धार गरेको छ । गोसार्इँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डीएमका अनुसार लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणले उद्धार गरेको हो ।

Advertisement

लेक लागेर यात्रुहरु विरामी परेपछि आपत्कालीन अवस्था पार गर्न चिकित्सकको सुझावमा बोकेर बेँसीतर्फ ल्याएको र केही यात्रुलाई लौरी विनायकदेखि धुञ्चेसम्म नै सेनाले बोकेर पु¥याएको बताइएको छ । नेपाली सेनाको मेडिकल समूहले चोलाङ पाटी र चन्दनबारीमा स्थापना गरेको स्वास्थ्य शिविरबाट चार हजार १८४ जनालाई उपचार सेवा प्रदान गरेको छ । २० वर्षदेखि गोसार्इँकु्ण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हिमालय उद्धार सङ्घले ६० जना गम्भीरखालका र ४३६ सामान्य बिरामीको उपचार भएको डा सुमन आचार्यले बताउनुभयो । उहाँका अनुसार सय जनाभन्दा बढी यात्रुलाई अक्सिजन प्रयोग गर्नुपरेको थियो । यात्रुहरुमा लेक लाग्ने, गानुगोला बढ्ने, जोर्नी तथा नसा दुख्ने, चिसोले असर पु¥याउने जस्ता समस्या आएको चिकित्सकहरुले बताएका छन् । यस्तै अक्सपोस युनिभर्सिटी र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०० जनालाई लेक लाग्ने समस्या समाधानसम्बन्धी परामर्श दिएको बताएको छ ।

सेनाका पोष्ट भएका धुञ्चे र हेलम्बुतर्फका दुई मार्गबाट नौ हजार २३१ भक्तजन पूर्णिमा पर्वमा कुण्ड पुगेको अभिलेख सेनाले दिएको छ । यात्रुहरु यार्सातर्फबाट पनि पैदल जाने हुँदा १० हजारभन्दा बढी भक्तजन गोसार्इँकुण्ड पुगेको अनुगमन गरिएको गोसाईँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । गोसार्इँकुण्ड मेलाका यात्रुलाई यात्रामा सहज पार्न सक्षम नेपाल नामक गैरसरकारी संस्था रेडक्रस, हरित युवा पर्यटन विकास समाज नेपाल, स्काउट र स्थानीय दिदीबहिनी कल्याण समाजले स्वयम् सेवकको भूमिका निर्वाह गरेको उक्त क्षेत्र विकास समितिले जनाएको छ । अहिले गोसाईँकुण्डबाट सबै यात्रु फर्किसकेको र फिर्ता जान पर्याप्त सवारी साधन नहुँदा स्थानीय प्रशासनले साबिक भाडादरमै बसको थप व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । वर्षाको कारण ठाउँठाउँमा गएका पहिरोले सवारी साधन रोकिँदा यातायात सञ्चालनमा समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया