संसदीय समितिले आज माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गर्ने

विदुर खबर २०७५ भदौ १२ गते १:५५

Advertisement

काठमाडौं- संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि आज माथेमा कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएको छ।

समितिले कार्यदलका सदस्यहरुलाई छलफलका लागि ११ बजे बोलाएको छ। प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमाथि दफावार छलफल सुरु गरेको छ।

Advertisement

चिकित्सा शिक्षाका विषयमा राष्ट्रिय नीति बनाउन त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति डा केदारभक्त माथेमा संयोजकत्वको कार्यदल गठन भएको थियो।

कार्यदलमा केयुका पूर्वउपकुलपति डा सुरेशराज शर्मा, आइओएमका पूर्वडिनहरू डा मदन उपाध्याय र डा रमेशकान्त अधिकारी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की, शिक्षण अस्पतालका पूर्वनिर्देशक डा भगवान कोइराला, शिक्षामन्त्रालयका सहसचिव डा हरि लम्साल र स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी सदस्य थिए। कार्यदलले करिब ६ महिनामा ३ हजार घन्टा छलफलपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो।

Advertisement

सोही प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा विधेयक आउनु पर्ने माग डा गोविन्द केसीले राखेका छन्। सरकारले डा केसीसँगको उक्त मागमा सहमति गरेको छ।

सोही आधारमा समितिले विधेयकका विषयमा विज्ञहरुसँग छलफल अगाडि बढाएको हो। समितिले विधेयकमा संशोधन हाल्ने सांसदहरुसँग छलफल गरिसकेको छ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल पुस १८ गते गठन गरेको उच्चस्तरीय कार्यदललाई चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी सिफारिस गर्न कार्यक्षेत्र तोकिएको थियो। उक्त कार्यदललाई सोही वर्षको चैत २० मा चिकित्साशास्त्र लगायतका विषयका सबै तहमा वैज्ञानिक शुल्क निर्धारण र सम्बन्धन खारेजी सम्बन्धी नीतिगत व्यवस्था सिफारिसका गर्न पनि कार्यक्षेत्र थपिएको थियो। कार्यदलले २०७२ असारमा सरकारलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया