भूकम्पपछि ६ सय ६३ सम्पदाको निर्माण सम्पन्न

विदुर खबर २०७९ असार ३० गते ८:५२

नुवाकोट । भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् ।

Advertisement

पुरातत्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर ९ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो । तीमध्ये अब २ सय ५७ सम्पदा पुननिर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ । विभागले हालसम्म ७२ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीले विसं २०८१ सालसम्म सम्पन्न गर्ने लक्ष राखेका थियौं । अनुमान गर्दा २०८२ सम्ममा सकिएला जस्तो छ ।’ तथ्याङ्कअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० सम्पदा क्षतिग्रस्त भएको थियो ।

Advertisement

विभागले क्षति भएका ९ सय २० सांस्कृतिक सम्पदाको मौलिक स्वरूपलाई यथावत् कायम राखी पुनर्निर्माण गरिएको प्रवक्ता कुँवरको भनाइ थियो । उहाँले आगामी आवमा सम्पदा पुनर्निर्माण गर्न करिब १ अर्ब ६० करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।

‘हामी आगामी आवमा ६० वटा नयाँसहित बहुवर्षीय ठेक्काअन्तर्गत पुनर्निर्माणलाई जोड दिनेछौं’ –प्रवक्ता कुँवरले भन्नुभयो । सरकारले आवश्यकताको आधारमा बजेट विनियोजन नगर्दा सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको हो ।

Advertisement

विभागले आगामी आवमा करिब ७ सय २५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । विभागले आव ०७९-०८० मा १ सय २२ मठमन्दिर पुनर्निर्माण गर्ने तयारी भइरहेको जनाएको छ । नेपालमा करिब एक दर्जन दातृ निकाय, राजदूतावास र संघसंस्थाले सम्पदा पुनर्निर्माण जारी राखेका छन् ।

चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले र दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै जापान, श्रीलंकन सरकार, युनेस्को, केभीपीटी, स्वयम्भू विकास समिति, काठमाडौं महानगरपालिका, कीर्तिपुर, मध्यपुर थिमी, भक्तपुर नगरपालिका, शहरी तथा भवन विभाग, गुठी संस्थान, सम्पदा तथा वातावरण संरक्षण प्रतिष्ठान, हनुमानढोका विकास समिति, बौद्ध विकास समिति, मियामोतो रिलिफ फन्ड, ललितपुर उद्योग वाणिज्य संघ र उपभोक्ता समितिले विभिन्न सम्पदा पुनर्निर्माण गरिरहेका छन् । प्रवक्ता कुँवरका अनुसार ०७५-०७६ मा ५० प्रतिशत, ०७६-०७७ मा ७५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

विभागको तथ्याङ्कअनुसार पाटनको भीमसेन मन्दिर अगाडिको सिंहको मूर्ति, योगनरेन्द्र मल्लको शालिक, सुन्दरीचोकको पूर्वी लङ, तलेजु र मूलचोकको छाना, मणिमण्डप, सोह्रखुट्टे पाटी निर्माण सम्पन्न गरिसकेको छ ।

त्यस्तै, हनुमानढोकाको लक्ष्मीनारायण, महादेव, सरस्वती, नगरा, सिंहसत्तल, मोहनकाली चोकको माथिल्लो मोहडा, पञ्चमुखी हनुमान, श्वेतभैरव, मशानचोकको नृत्यश्वर मन्दिर प्रताप मल्लको शालिक, देगु तलेजु, नौतले र गद्धी बैठक बीचको राणाकालीन भवन, गद्धी बैठकको पुनर्निर्माण सम्पन्न भइसकेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूका एक दर्जन सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । स्वयम्भूको टासी गोर्माग चैत्य, अनन्तपुर, प्रतापपुर, शान्तिपुरको पाटी, मञ्जुश्री सत्तललगायत छन् ।

प्रतिक्रिया