गल्छी–रसुवागढी सडक निर्माणमा ढिलाइ

विदुर खबर २०७९ असार २५ गते ७:४७

नुवाकोट ।  राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी– रसुवागढी सडक खण्डको स्तरोन्नतिमा ढिलाइ भएको छ ।

Advertisement

सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति सुरु भएको साढे पाँच वर्षमा समग्र आयोजनाको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

पहिलो खण्डअन्तर्गतको गल्छी–त्रिशूली–मैलुङ सडकमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पहिलो खण्डमा स्तरोन्नति गर्ने काम २०७३ कात्तिक ७ गतेबाट सुरु भएको हो ।

Advertisement

गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर लामो सडकमध्ये २९ किलोमिटर सडक कालोपत्रे भएको छ । बाँकी सडक फराकिलो बनाउने, तारजाली, टेवापर्खाल तथा नाली निर्माणको काम भइरहेको छ । स्तरोन्नति सुरु भएको दुई वर्षमा सम्पन्न हुनुपर्ने पहिलो सडकखण्डमा अहिलेसम्म ७५ प्रतिशत काम मात्र सम्पन्न भएको आयोजनाले जनाएको छ । यो सडकखण्डमा स्तरोन्नति गर्ने काम ढिला हुँदा ठेक्काको म्याद पटकपटक थप गरिएको छ ।

कोरोना महामारीका कारण काममा ढिलाइ भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना प्रमुख निरज शाक्यले बताए । ‘सर्वोच्च अदालतमा परेको मुद्दाका कारण पनि पिपलटारदेखि ढुंगे खण्डमा सडक स्तरोन्नति गर्ने काम रोकिएको छ,’ उनले भने । पिपलटारदेखि ढुंगेसडक खण्डको काम नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । त्यस्तै मुआब्जाको कारण पनि कतिपय स्थानमा काम हुन नसकेको आयोजनाको भनाइ छ ।

Advertisement

पहिलो खण्डमा निर्माण भइरहेको सडकको लागत ३ अर्ब ६३ करोड ९१ लाख १६ हजार ९२४ रुपैयाँ छ । गल्छीदेखि स्याफ्रुसम्म १६ वटा पुल निर्माण गर्नुपर्छ । पुल निर्माणको जिम्मा कालिका–टुंदी–हिदुङ एन्ड थोकर जेभी र सडक बनाउने जिम्मा एमएस–कन्भेट–टुंडी, रसुवा जेभीले पाएको छ । त्यस्तै आयोजनाको दोस्रो खण्डमा निर्माण कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुबेंसी सडकमा पाँच महिनादेखि स्तरोन्नतिको काम अलपत्र परेको छ ।

मैलुङदेखि स्याफ्रुबेंसीसम्म दोस्रो खण्डको लम्बाइ १९ किलोमिटर छ । यो नेपाली सेनाले ट्र्याक खोलेको सडक हो । यस खण्डमा सडक फराकिलो बनाउने, तारजाली, टेवापर्खाल तथा नाली निर्माणको समेत गरी २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडकखण्ड स्तरोन्नतिको जिम्मा श्री भारत कन्स्ट्रक्सन सिद्धिशाही जेभीले पाएको थियो । यस सडक खण्ड स्तरोन्नतिको लागत १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । २०७९ पुस ३० सम्ममा सडक स्तरोन्नतकिो काम सम्पन्न गर्ने गरी आयोजनाले निर्माण कम्पनीसँग २०७७ साउन १ गते सम्झौता गरेको थियो ।

निर्माण कम्पनीलाई सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएपछि निर्माण कम्पनीलाई नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको शाक्यले बताए । उनले भने, ‘ठेक्का रद्द गर्न माथिल्लो निकायमा पत्राचार गरिएको छ ।’ कम्पनीले अग्रिम पेस्कीबापत् बुझेको साढे १२ करोड असुल गरिएको शाक्यले जनाए ।

आयोजनाको तेस्रो खण्ड स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतिको काम भने अझै सुरु हुन सकेको छैन । चीन सरकारको अनुदानमा स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड स्तरोन्नति हुन लागेको हो । ०७६ असोज ११ गते गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा रिबन काटेर सडक स्तरोन्नतिको औपचारिक उद्घाटन गरिएको थियो । तर ३३ महिना बितिसक्दा पनि काम सुरु भएको छैन ।

सडक स्तरोन्नतिको जिम्मा चाइना तिब्बत टिनालु कम्पनी लिमिटेडले लिएको हो । निर्माण कम्पनीका कर्मचारी नआउँदा काम सुरु हुन नसकेको आयोजनाको भनाइ छ ।

कोरोनाका कारण कम्पनीका कर्मचारी अहिलेसम्म नआउँदा स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड स्तरोन्नति गर्न ढिलाइ भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना प्रमुख शाक्यले बताए । सडक खण्डमा ८२ वटा घरटहरा र ३२३ वटा बिजुलीका पोल हटाउनुपर्ने देखिएको उनले जनाए । सडक खण्डमा पर्ने बिजुलीका पोल सार्ने काम भइरहेकको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ ।

मानव बस्ती र भीरबाहेकका स्थानमा बिजुलीका पोल सार्ने काम सकिएको केन्द्रका प्रमुख प्रेमबहादुर भण्डारीले बताए । स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको लम्बाइ १५.८ किलोमिटर छ । हाल एक लेनको कच्ची रहेको सडक स्तरोन्नतिपछि कालोपत्रसहित दुई लेनको बन्नेछ । चीन सरकारले सडक स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । अहिले सञ्चालनमा रहेको स्याफ्रुबेंसी–रसुवागढी सडक पनि चीन सरकारले नै निर्माण गरिदिएको हो । करिब साढे ४ अर्ब लागतमा ३९ महिनामा काम सकिने चिनियाँ पक्षले जनाएको छ ।

राजधानी काठमाडौंबाट रसुवागढी नाका पुग्न छोटो दूरीको सडक बनाउने सरकारको योजनाअनुसार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण सुरु गरिएको हो । सडक निर्माण सकिएपछि काठमाडौंबाट गल्छी, त्रिशूली, बेत्रावती मैलुङ स्याफ्रुबेंसी हुँदै चीनको सीमा रसुवागढी सजिलै पुग्न सकिन्छ । रसुवागढीदेखि धादिङको गल्छीसम्मको दूरी करिब ८२ किलोमिटर छ । गल्छीबाट काठमाडौंसम्मको दूरी ५० किलोमिटर छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटरको दूरी पार गर्नुपर्छ । बेत्रावती मैलुङ स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । रसुवागढी–केरुङसम्मको दूरी भने २४ किलोमिटर छ ।

पासाङ ल्हामु मार्गको बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्न ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने हुन्छ । बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रु पुग्न गाडीलाई कुनै पनि घुम्ती पार गर्नु पर्दैन । काठमाडौंबाट चीनको केरुङ भने करिब ४ घण्टामा पुग्न सकिन्छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक दक्षिण एसिया जोड्न ‘लाइफलाइन’ का रूपमा रहनेछ । सडक बनेपछि उत्तर (चीनको केरुङ) र दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी करिब २ सय ३० किलोमिटर हुनेछ ।

प्रतिक्रिया