बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट शुक्रवार हुने

नुवाकोट । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ असार ३ गते शुक्रवार बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालय नक्साल, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो ।कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा १६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ वितरण गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ता शेयर भने कम्पनीले सर्वसाधारणमा बाँडफाँट गर्नेछ । भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । जारी पूँजी रू. १ अर्ब रहेको यस कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा जारी पूँजीको १० प्रतिशत र दोस्रो चरणमा सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गरेको हो ।
कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्ममा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने रू. ९ दशमलव ६८ छ । कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । रुदि खोला ए जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत आयोजनाको निर्माण लागत रू. १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया