प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु : आयोग

विदुर खबर २०७९ जेठ ३१ गते १८:२८

नुवाकोट ।  निर्वाचन आयोग नेपालले आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको जनाएको छ ।

Advertisement

मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरी आयोगले आन्तरिक तयारी थालेको बताएका हुन् ।

उनले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको पनि बताए । प्रवक्ता पौडेलले आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचन मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पारे ।

Advertisement

उनले भने, ‘आयोगको आन्तरिक र अनौपचारिक छलफलमा अहिले पनि आयोग एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा नै छ । एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको छ । यस सम्बन्धमा आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले परामर्श गरिरहेको छ ।’

उनले निर्वाचन आयोग, नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्ने बताए । प्रवक्ता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मिति निकट भविष्यमा घोषणा हुने सम्भावनालाई मध्यनजर गरेर असार १ गतेदेखि सबै निर्वाचन कार्यालयहरु र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको बताए । उनले हाल अस्थायी बसोबास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गरे ।

Advertisement

प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायत विवरण सच्याउन प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन सकिने छ । कुनै मतदाताले झुटो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भनि नाम हटाउन प्रमाणसहित उजुरी आएमा नाम दर्ता अधिकारीले छानबिन गरी नाम हटाउन सक्ने व्यवस्था गरेको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया