आज जनै पूर्णिमा मनाइँदै

विदुर खबर २०७५ भदौ १० गते ४:५३

नुवाकोट,साउन शुक्ल पूर्णिमाका दिन आइतबार चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् ।
जनैको छ शिखालाई ज्ञान, कर्म र उपासना तथा ब्रह्मा, विष्ण्ुा महेश्वरको प्रतीक मानिन्छ । सक्नेले सबै पूर्णिमामा वा नसक्नेले वर्षको एक पटक मन्त्रणा गरिएको जनै लगाउँदा राम्रो हुन्छ भनिएको छ ।  ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार जनै धारण गर्दा वा रक्षा वन्धन गर्दा दुष्ट प्रेत पिशाचले नसताउने र अशुभ विनास विघ्नवाधा हट्ने, मुद्दा मामलामा जीत हुने, सन्तान सुख हुन्छ भनेर भविष्य पुराणको उत्तरपर्वमा व्याख्या गरिएको छ ।  यमलाई यमुनाले डोरो बाँधिदिएर यमराजको रक्षा गरेको सन्दर्भमा तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई नाडीमा राखी बाँधिदिने चलन छ । दानवद्वारा उपद्रव खेपेका देवताका गणलाई रक्षा गर्न गुरु वृहस्पतिले दानवराज वलिराजालाई मन्त्रणा गरिएको डोरोले बाँधेर राखेको प्रसङ्गसँगै तागाधारीले नाडीमा रक्षावन्धन बाँध्ने चलन छ ।  नुतन यज्ञोपवित धारणका लागि तागाधारीहरू शनिवार कपाल मुण्डन सहित एक छाके रहे भने जनै मन्त्रणा गर्नेहरू निराहार वसे । शुद्ध मानिएका घाट, पाटी, पौवा, त्रिवेणी, दोभानलगायतका स्थानमा जनै मन्त्रणा गर्ने व्राह्मणले यत्रतत्र स्थान ओगटेका छन् । जनैपूर्णिमाका लागि पशुपतिनाथ शनिवार साँझ जनै फेरेर गोसाइँकुण्ड जानुभएको छ । नाथलाई पशुपतिनाथका विसेट अरुण श्रेष्ठ मूलपूजारी तथा पालोवाला भण्डारीको सहयोगमा जनै फेराइएको छ ।  नाथलाई जनै पूिर्णमाको एकदिन अगावै जनै फेराइने प्रचलन छ । पशुपतिनाथलाई जनै फेराइएपछि सर्वसाधारण तागाधारीले भोलिपल्ट रक्षावन्धन वाँध्ने र जनै फेर्ने चलन छ । जनै फेरेपछि ज्वाइँ–छोरी, भान्जा–भान्जीलाई आमन्त्रण गरी विभिन्न गेडागुडी मिश्रित क्वाँटी खुवाउने चलन छ ।  असार पन्ध्रमा दही च्यूरा, साउन पन्ध्रमा खीर भोजन गरेर जनै पूर्णिमाका दिन झोल सहितको मनतातो क्वाँटी भोजन गर्दा असार–साउनको झरी र खण्डेवृष्टीले मानिसमा कफ, पित्त, वायु असन्तुलनमा राखेर विरामी पार्ने सम्भावना रहेकोले क्वाँटी खाने प्रचलन रहेको वैद्यराज सुवर्ण वैद्य बताउनुहुन्छ ।
क्वाँटी भोजनले यो याममा कफ, पित्त, वायु सन्तुलनमा राख्ने भएपनि युरिक एसिड भएकाले भने क्वाँटी खान नहुने वैद्यराजको भनाइ छ ।
सबै पूर्णिमा महत्वका भएपनि विशेष गरेर कोजाग्रत पूर्णिमा, बुद्ध पूर्णिमा, जनै पूर्णिमा र चैत पूर्णिमा अझ बढी महत्वका रुपमा चिनिन्छन् ।

Advertisement

प्रतिक्रिया