नेपालको मकै ‘हात्तीको मुखमा जिरा’

विदुर खबर २०७५ भदौ ९ गते १३:३२

Advertisement

काठमाडौँ,  कुखुरापालन किसानका लागि भरपर्दो पेसा हो । तर, यही पेसा सञ्चालनका लागि झण्डै रु १६ अर्बको कच्चा पदार्थ अन्यत्रबाट आयात गर्नुपर्छ । जबकी कुखुरापालन व्यवसायबाट वार्षिक रु ३३ अर्ब ७२ करोड आम्दानी हुन्छ ।

कुखुरालाई आवश्यक पर्ने दाना कृषि र पशुपालन क्षेत्रबाट प्राप्त गर्न सकिन्छ । तर कृषि र पशुपालन क्षेत्र परनिर्भरतातर्फ धकेलिएकाले दाना बनाउन आवश्यक पर्ने मकै, भटमासको पिना र हाडका टुक्रा आयात गर्नुपरेको हो । कुखुराको दाना बनाउन मात्र मुलुकमा १०८ उद्योग सञ्चालित छन् । ती सबै दाना उद्योगले आफूलाई आवश्यक पर्ने कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्छ । एक व्यवसायी नारायणहरि खत्रीले भन्नुभयो, “नेपालमा उत्पादन भएको मकै ‘हात्तीको मुखमा जिरा भने जस्तै हो ।’

Advertisement

कृषि तथा वन विज्ञान विश्वविद्यालयकी डीन प्रा डा शारदा थपलियाले एकातिरबाट आम्दानी भएको देखिए पनि अर्कातर्फ आम्दानी जति कच्चापदार्थमा खर्चिनुपर्ने भएपछि राज्यको कूल आम्दानीमा कुखुरापालन व्यवसायबाट ठूलै आम्दानी भयो भन्नुचाँहि उपयुक्त नहुने बताउनुहुन्छ । तरपनि, कुखुरापालन व्यवसायमा एक लाख ५० हजार व्यक्ति प्रत्यक्ष रोजगारीमा संलग्न छन् । जुन कुरा सकारात्मक हो । दाना उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ कृषिबाट प्राप्त गर्न सकिन्छ । तर कृषिको उत्पादन सन्तोषजनक नभएकाले आम्दानीको आधा हिस्सा अन्यत्र खर्च गनुपरेको हो ।

झण्डै ११ लाख हेक्टर खेतीयोग्य जमीन बाँझो छ । बाँझो रहेको सबै जमीनमा मकै र भटमास खेती गर्न सकिन्छ । तर बाँझो जमीनलाई उपयोगमा ल्याउन भने कहीँकतैबाट ठोस कदम चालेको देखिँदैन । नेपालमा मकैको उत्पादन प्रतिवर्ष सरदर २२ लाख र भटमास २५ हजार मेट्रिक टन छ । नेपालमा विसं २०१७ देखि कुखुरापालन शुरु भएको इतिहास छ । विशेष गरी गाउँघरका किसानले घरको बुइगेलबाट शुरु गरेको सो व्यवसाय आजको अवस्थामा आइपुग्दा आधुनिक रुपले अगाडि बढेको छ । पशुसेवा विभागका अनुसार यस क्षेत्रमा करीब रु ८० अर्बको लगानी छ ।

Advertisement

कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ । पशुपालन र कृषिलाई समग्र कृषि क्षेत्रको उत्पादन मानिन्छ । जबकी पशुपक्षी क्षेत्रमा कूल कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमध्ये १२ प्रतिशत छ भने सिङ्गो कुखुरापालनमा सो योगदान आठ प्रतिशत रहेको छ । पशुसेवा विभागको सन् २०१७ को तथ्याङ्कअनुसार नेपालमा सात करोड कुखुरा रहेको बताएको छ । देशको कूल मासु उत्पादनको करीब १७ दशमलव २ प्रतिशत हिस्सा कुखुरापालन क्षेत्रले ओगटेको छ । देशको मागअनुसार मासु र अण्डा उत्पादन–लागतलाई कम्तीमा दुई ठूला छिमेकी चीन र भारतको दाँजोमा कम र प्रतिस्पर्धी बनाउनुपर्ने चुनौती छ । नेपालको अर्थतन्त्रमा कुखुरापालन व्यवसायको महत्वपूर्ण योगदान छ । नेपालका सबै जिल्लामा व्यावसायिक कुखुरापालन गरिएको छ । लगभग ४०० ठूला फर्म, १० हजार औषधि व्यवसायी र १५ हजार मासु विक्रेता यस पेशामा संलग्न छन् ।

प्रतिक्रिया