कांग्रेसको विधान संशोधन मस्यौदा समिति गठन

विदुर खबर २०७५ भदौ ८ गते १:४६

Advertisement

काठमाडौं , नेपाली कांग्रेसले आफ्नो दलको विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गर्नुभएको हो । मस्यौदा समितिलाई आज शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने भएको छ ।

मुलुकको नयाँ संघीय संरचनाअनुसार संगठनात्मक संरचनाहरुलाई पुनर्संरचना गर्नका लागि पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न गठित ११ सदस्यीय समितिमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडु, महालक्ष्मी उपाध्याय, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य रहेका छन् । गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बिहीबार सभापति देउवाले विधान मस्यौदा समिति गठन गर्नुभएको हो । संविधानअनुसार पार्टीको संगठनात्मक पुनर्संरचना गर्न विधान संशोधन गर्नुपर्ने भन्दै महासमिति बैठक आव्हान गर्न कांग्रेस नेतृत्वलाई दबाब बढिरहेको थियो । पार्टी विधान आवश्यक संशोधन र परिमार्जनका लागि विधान मस्यौदा समितिले पेस गरेको संशोधन र परिमार्जनका बुँदाहरु महासमिति बैठकले पारित गर्नुपर्छ । विधान संशोधन मस्यौदा समितिले आफ्नो कार्यविधि आफैं तयार गरी लागू गर्नेछ । समितिका संयोजकले आवश्यक्ताअनुसार विभिन्न व्यक्ति तथा संस्थालाई आफ्नो समितिमा आमन्त्रण पनि गर्न सक्नेछन् । सभापति देउवाले गठन गर्नुभएको मस्यौदा समितिको अनुमोदन गर्न आज शुक्रवार केन्द्रीय समिति बैठक पनि बस्दै छ । केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति र स्थान तोक्ने प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ ।

Advertisement

विधान संशोधनका लागि यही भदौं मसान्तसम्म महासमिति बैठक आव्हान गर्ने गत वैशाखमै केन्द्रीय समितिले निर्णय गरेको भए पनि हिजो मात्र विधान मस्यौदा समिति गठन गरेका कारण यो महिनाभित्र महासमिति बैठक बस्ने सम्भावना नरहेको भनी चर्चा भइरहेका बेला सभापति देउवाले सकेसम्म छिटो महासमिति बैठक आव्हान गर्ने बताउनुभएको छ । प्रवक्ता शर्माका अनुसार सभापति देउवाले भदौ महिनाभित्र महासमिति बैठक राख्ने बारेमा छलफल भइरहेको बताउनुभएको छ । आज बस्ने केन्द्रीय समिति बैठकले महासमितिको तयारीका सन्दर्भमा आवश्यक निर्णय पनि गर्नेछ । केन्द्रीय समिति बैठकले कार्यसम्पादन समिति र अनुशासन समितिको बारेमा निर्णय लिनुका साथै महासमिति बैठकको तयारीका लागि आर्थिक र सांगठनिक निर्णय पनि लिने प्रवक्ता शर्माले बताउनुभएको छ । महासमिति बैठक काठमाडौं अथवा पोखरामा बस्ने सम्भावना रहेको प्रवक्ता शर्माको भनाइ छ ।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले काठमाडौं वा बुटवलमा बस्ने बारेमा पनि अनौपचारिक छलफल भइरहेको जानकारी दिनुभएको छ । आज बस्ने बैठकले केन्द्रीय समितिमा छलफल गरी औपचारिक निर्णय गरिने उहाँको भनाइ थियो । बैठकमा भदौं १ गते देखि कार्यान्वयनमा आएको नयाँ मुलुकी ऐनको बारेमा पनि विस्तृत छलफल हुनेछ । केही कांग्रेस नेताहरुले भने दशंै, तिहार, छठ पर्वलगायतका चाडबाड सकिएपछि मात्र महासमिति बैठक बस्ने बारेमा छलफल भइरहेको बताएका छन् । नयाँ संरचनाअनुसार प्रदेश समिति नगरपालिका, गाउँपालिका तथा नयाँ वडाहरुको अधिवेशन गरी कार्यसमिति बनाउन विधान संशोधन गर्नु नपर्ने भन्दै कांग्रेसभित्र तल्लो तहको अधिवेशन तत्काल गर्न दबाब बढिरहेको छ । १४औं महाधिवेशनसम्मका लागि १३औं महाधिवेशनको क्रियाशील सदस्यतालाई आधार मानेर तल्लो तहको अधिवेशनबाटै पदाधिकारी चयन गरी कांग्रेसको संगठनात्मक संरचनालाई क्रियाशील बनाउन जिल्ला सभापतिले समेत केन्द्रीय नेतृत्वलाई दबाब दिइरहेका छन् । कांग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकमा पनि तल्लो तहको अधिवेशनबारे केन्द्रीय सदस्यहरुले कुरा उठाउने बताएका छन् । समाचार आजको समाचारपत्र दैनिकमा छ ।

Advertisement

प्रतिक्रिया