गठबन्धलाई एमालेको डर, तीन पार्टीलाई कांग्रेसको भर

विदुर खबर २०७८ चैत २० गते ८:२६

नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् ।

Advertisement

स्थानीय तहको निर्वाचन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि प्रतिष्ठाको विषय बन्ने भएको छ । सत्ता गठबन्धनमा आबद्ध चार दलबीच स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने समझदारी भइसकेको छ । सत्ता गठबन्धनमा दलहरूबीच स्थानीय तह, प्रदेश र संघीय चुनावसम्म गठबन्धन गरेर अघि बढ्ने सैद्धान्तिक सहमति जुटेसँगै गठबन्धन निर्माणमा जुटेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेसँगै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी उत्साहित भएका छन् । गठबन्धन गर्नको लागि सत्तारुढ दलहरूबीच आन्तरिक गृहकार्य शुरू भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनभित्र स्थानीय तहमा बाँडफाँट गरेर चुनावमा जाने तयारी शुरू भएको छ ।

Advertisement

सत्ता गठबन्धनमा चार दलले आगामी निर्वाचनमार्फत प्रमुख प्रतिपक्ष दल एमालेलाई हराउन पनि चुनावी तालमेल गर्नुपर्नेमा जोड दिँदै आएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलबीच ६ वटा महानगरपालिका ११ वटा उपमहानगरपालिकामा भागवण्डाको विषय पेचिलो बन्दै गएको छ । ठूलो दल भएकाले कांग्रेसले अधिकांश महानगरपालिका र नगरपालिकामा दाबी गरेको छ भने अन्य दलहरूले पनि आ–आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्रबाट गठबन्धन नगर्न दबाब रहे पनि अन्ततः पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाटै गठबन्धनमार्फत नै चुनावमा जाने निर्णय भइसकेको छ । पार्टीभित्र आन्तरिक विवादबीच सभापति देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न निर्देशन दिइसक्नुभएको छ । स्थानीय तहको निर्वाचनमा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा कांग्रेसकै आडमा निर्वाचनमा होमिने भएका छन् ।

Advertisement

आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमाले भने बिना तालमेल नै चुनाव लड्ने भएको छ । एमाले विभाजित भएको र सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने अवस्थामा स्थानीय तहमा विगतको विरासत धान्नको लागि एमालेलाई पनि चुनौती थपिएको छ ।

प्रतिक्रिया