पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विदुर खबर २०७८ चैत ११ गते ७:०९

नुवाकोट । जिल्ला अदालत तनहुँले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

Advertisement

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको बिहीबारको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोही मुद्दामा मतियारका रूपमा रहेका शाहका म्यानेजर भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । जोशी बिहीबार साँझ नै धरौटी बुझाएर रिहा भएका छन् ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि नायक पल शाहविरुद्ध दुवै पक्षबाट बहस गरिएको थियो । जाहेरीवालाका तर्फबाट बुधबार नै बहस भएको थियो भने प्रतिवादीका तर्फबाट बिहीबार अदालतमा बहस भएको थियो । बिहीबार प्रतिवादीका तर्फबाट १२ जना कानुन व्यवसायीले बहस गरेको अधिवक्ता भानुभक्त सुवेदीले जानकारी दिनुभयो । बहसका क्रममा उठेका प्रश्नमाथि बिहीबार जिल्ला न्यायाधिवक्ताले जवाफसमेत दिनुभएको थियो ।

Advertisement

नायक पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी मुद्दामा ११७ प्रमाण पेस गरेको थियो । विभिन्न खामबन्दी प्रमाण, मुचुल्का, बयानलगायतको ११७ वटा प्रमाण पेस गर्दै सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

अदालतमा २ जना गवाह र १६ साक्षी (देख्ने सुन्ने) सहित पल शाहको वास्तविक नाम भएको गोप्य बन्दी खाम, पीडितले दिएको बयानको अडियो भिडियोको डीभीडी, पीडितको स्वास्थ्य जाँच, पल शाहको स्वास्थ्य जाँच, घटनाको मुचुल्का, घटनाको प्रारम्भिक प्रतिवेदन, प्रतिवादीको फोटो फ्रिन्ट, सीडीआर विवरण, पत्रपत्रिका आएका खबरहरूको प्रिन्ट कपी, पूर्णविक्रम शाहको लाइसेन्सको फोटोकपीसमेत पेस गरिएको थियो ।

Advertisement

प्रतिक्रिया