चुनावमा माओवादीले जितेन भने जनक्रान्तिका उपलब्धिले हार्छ : दाहाल

विदुर खबर २०७८ फागुन २९ गते २०:३६

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा स्थानीय तहको निर्वाचन जित्नैपर्ने बताएका छन् । उनले परिवर्तनमा लागेको पार्टीले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताएका हुन् । 

Advertisement

विराटनगरमा आइतबार आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत गर्न माओवादीले निर्वाचन जित्नुपर्ने तर्क गरेका हुन् । ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धिले हार्छ, समावेशी, समानुपातिक लोकतन्त्रले हार्छ,’ उनले भने ।

दाहालले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्ने कसरत भइरहेको पनि बताए । माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको उनको दाबी थियो । कसले त्यसो गरिरहेको हो भन्ने उनले उल्लेख नगरी भने, ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय व्यवस्था स्थापित गर्न विदेशी शक्ति लागेको छ ।’

Advertisement

आगामी निर्वाचनलाई सामान्यरूपमा नलिन दाहालको कार्यकर्तालाई निर्देशन थियो । समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति माओवादीको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्न तयार रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया