चुनावी अभियानमा कांग्रेस र माओवादी

विदुर खबर २०७८ फागुन २५ गते ८:४९

नुवाकोट । सत्तारूढ कांग्रेस र माओवादी केन्द्र आगामी वैशाख ३० मा हुने स्थानीय चुनावकेन्द्रित अभियानमा जुटेका छन् ।

Advertisement

कांग्रेसले मंगलबार पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यको अनौपचारिक बैठक बसेर फागुन २९ देखिको एकमहिने चुनावी अभियान घोषणा गरेको छ । माओवादी केन्द्रले भने केन्द्रीय समिति बैठकबाट दुईमहिने चुनावी अभियान चलाउने निर्णय गरेको छ ।

कांग्रेसले चुनावी अभियानका लागि ७७ जिल्लामै जाने केन्द्रीय प्रतिनिधिसमेत तोकेको छ । प्रधानमन्त्री एवं कांग्रेस शेरबहादुर देउवाले स्थानीय चुनाव निर्धारित समयमै हुनेमा संशय नराखी अघि बढ्न निर्देशन दिएका छन् ।

Advertisement

देउवाले पार्टीका पदाधिकारीलाई लक्ष्य गर्दै गठबन्धन दलहरूप्रति उग्र भएर प्रस्तुति नदिन पनि निर्देशन दिएका छन् । ‘गठबन्धन दलहरूप्रति उग्र हुने काम छैन । प्रमुख प्रतिपक्ष एमालेको विरोधमा पनि खनिन आवश्यक छैन । हामी पनि आरोप/प्रत्यारोपमा लाग्यौं भने केपी ओलीभन्दा फरक हुँदैनौं,’ बैठकमा देउवाले भनेका थिए ।

कांग्रेसले स्थानीय तह चुनावका सञ्चालन हुने अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ सार्वजनिक गरेको छ । उपसभापति धनराज गुरुङले चुनावी अभियानमा एमसीसी सम्झौताका विषयमा उठेका भ्रम निवारण गर्ने र पार्टीको महाधिवेशनका बेला तल्ला तहसम्मै भएको गुटगत ध्रुवीकरण मेट्ने प्रयास हुने बताए ।

Advertisement

माओवादी केन्द्रले भने ‘समाजवादउन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नारासहित चुनावी अभियान चलाउने भएको छ । माओवादीले आफ्ना आठ लाख पार्टी सदस्यलाई चुनावमा परिचालन गर्ने तथा घरघरमा सदस्य र टोलटोलमा सदस्यता अभियान चलाउने जनाएको छ ।

संगठन सुदृढीकरण र विस्तारको नीतिअनुसार दुई महिनाको अवधिमा भेला, प्रशिक्षण, सदस्यता वितरण, सबै तहका कमिटी पूर्णता, स्थानीय तहमा आवश्यक विभाग गठन गर्नेलगायतका काम सक्ने पनि कार्ययोजनामा उल्लेख छ । चुनावी तालमेलका लागि गठबन्धन घटकसँग वार्ता–संवाद गर्ने र अन्य पार्टीसँग समन्वय गर्ने पनि माओवादीको कार्ययोजनामा उल्लेख छ ।

चुनावी कार्ययोजना कार्यान्वयनका लागि माओवादी केन्द्रले प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश साह, वाग्मतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेललाई इन्चार्ज तोकेको छ ।

प्रतिक्रिया