काठमाडौं उपत्यकामा कोरोना प्रतिबन्ध हट्यो

विदुर खबर २०७८ फागुन २२ गते ८:२५

नुवाकोट । कोरोना संक्रमितहरूको संख्या निकै कम हुँदै गएपछि काठमाडौं उपत्यकाका तीनवटै प्रशासनले लागू गरेको प्रतिबन्धात्मक व्यवस्था शनिबारदेखि हटाएको छ ।

Advertisement

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरले झन्डै एक महिनाभन्दा बढी समयदेखि लगाइएको प्रतिबन्धात्मक व्यवस्था हटाइएको आदेश जारी गरेकाले अब सबै गतिविधि नियमित रूपमा सञ्चालन गर्न सकिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो– ‘राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन सकिनेछ । तर, यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ ।’

यसअघि अन्तिमपटक माघ २३ गते राति १२ बजेदेखि लागू हुने गरी जात्रा, महोत्सव, सभा, जुलुसलगायत धेरै मानिस भीडभाड हुने गतिविधि सञ्चालनमा रोक लगाउने गरी स्थानीय प्रशासनले आदेश जारी गरेको थियो । सो आदेशमा फागुन १ गतेबाट शैक्षिक क्षेत्रका अधिकांश गतिविधि खुला गरिए पनि केही प्रतिबन्धात्मक व्यवस्था भने कायम राखिएको थियो ।

Advertisement

यस्तै, सपिङ मल, सुपर मार्केटलगायतका मानिसको भीडभाड हुने क्षेत्रमा ५० जनाभन्दा बढी भेला नहुने गरी खोप लगाइएका व्यक्तिलाई मात्रै प्रवेश दिन आदेशमा भनिएको थियो । यस्तै, डान्स बार र दोहोरी सञ्चालन हुने स्थानमा पनि केही प्रतिबन्धात्मक व्यवस्था कायमै थियो ।

कोरोनाको तेस्रो लहर भित्रिएपछि गत पुस २७ बाट उपत्यका प्रशासनले आदेश जारी गर्दै प्रतिबन्धात्मक व्यवस्था लगाउन शुरू गरेको थियो । यसको अघिल्लो दिन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बँुदे आदेश जारी गरेको थियो ।

Advertisement

त्यसैलाई ध्यानमा राखेर प्रशासन कार्यालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्बाट भएका निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८, संक्रामक रोग ऐन–२०२० र स्थानीय प्रशासन ऐन–२०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।

प्रतिक्रिया