एमसीसीले माओवादीमा किचलो

विदुर खबर २०७८ फागुन १९ गते ९:४९

नुवाकोट । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएसँगै सत्ता साझेदार नेकपा माओवादी केन्द्रभित्र विवाद चुलिएको छ ।

Advertisement

संशोधनबिना एमसीसी पारित गर्न नसकिने अडान राख्दै आएको माओवादीले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेसँगै आन्तरिक विवाद बढेको छ ।

यसैबीच पार्टीभित्र बढ्दै गएको आन्तरिक विवाद समाधानका लागि माओवादी केन्द्रले फागुन २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठकमा संगठन, एमसीसी सम्झौता र भावी कार्ययोजनाको विषयमा छलफल हुने बताउनुभएको छ ।

Advertisement

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्न दिएपछि पार्टीका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउँदै आउनुभएको छ ।

एमसीसीको विषयलाई लिएर श्रेष्ठले पार्टीभित्रका असन्तुष्ट नेताहरूसँगको परामर्शलाई तीव्रता दिएपछि प्रचण्डले श्रेष्ठको निवास हात्तीवनमै पुगेर मनाउने कोशिस गर्नुभएको छ । श्रेष्ठले एमसीसी संशोधन नगरी पारित गर्न नहुने अडान लिनुभएको थियो । जबरजस्ती एमसीसी संसद्मा टेबल गरे सरकार सरकारबाट फिर्ता हुने संसदीय दलको निर्णय कार्यान्वयन नभएको भन्दै प्रचण्डको कार्यशैलीमा श्रेष्ठले असहमति राख्दै आउनुभएको थियो ।

Advertisement

व्याख्यात्मक घोषणाप्रति असन्तुष्टि राखे पनि अन्ततः प्रचण्डले सत्ता गठबन्धनलाई जोगाउन एमसीसी पारित गर्ने निर्णय लिनुभएको थियो । श्रेष्ठ निकट मानिने नेता गिरिराजमणि पोखरेलले संसद्मै व्याख्यात्मक घोषणप्रति असन्तुष्टि जनाउँदै जबरजस्ती रूपमा एमसीसी पारित गरिएकोप्रति विरोध जनाउनुभएको थियो ।

माओवादीका नेता हरिबोल गजुरेलले भने व्याख्यात्मक घोषणासँगै एमसीसी सम्झौता अनुमोदन गरेर पार्टीले सही निर्णय गरेको बताउनुहुन्छ । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीले लिएको निर्णयबाट सत्ता गठबन्धन बचेको छ, एमसीसीको विषयमा रहेको भ्रम निवारण भएको छ ।’ एमसीसी अनुमोदन गरिएको विषयलाई लिएर पार्टीभित्र अनावश्यक टीकाटिप्पणी गर्न आवश्यक नभएको उहाँको भनाइ छ ।

प्रचण्ड र श्रेष्ठबीच विवाद भइरहेका बेला नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले श्रेष्ठको निवासमै पुगेर पार्टी एकताको प्रस्ताव अगाडि सार्नुभएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएसँगै आन्दोलनको घोषणा गरेको विप्लव नेतृत्वको पार्टीले श्रेष्ठलाई एमसीसीको एजेन्डामा मिलेर अगाडि बढ्न आग्रह गरेको बताइएको छ । विप्लवसँगको भेटमा श्रेष्ठले एमसीसी पास गरेर गलत भएको बताउनुभएको थियो ।

यसैबीच नेकपा एकीकृत समाजवादीभित्र पनि एमसीसी अनुमोदनको विषयलाई लिएर सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि राख्दै आउनुभएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक घोषणासँगै एमसीसी सम्झौता पारित हुने सुखद विषय भएको अभिव्यक्ति दिए पनि नेता खनालले पनि एमसीसी अनुमोदन हुनु देशका लागि घातक भएको टिप्पणी गर्दै आउनुभएको छ ।

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनसक्ने अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई नेताबीच भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । यसैबीच देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो ।

प्रतिक्रिया