हिमालयन बैंकको नाफा सामान्य बढ्यो

विदुर खबर २०७८ माघ १२ गते १०:३७

नुवाकोट । हिमालयन बैंक लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ।

Advertisement

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.९१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४१.६४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ७.६६ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २४ करोड ५१ लाख रुपैयाँ रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ रुपैयाँ २३ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११ रुपैयाँ ४७ पैसामा झरेको छ।

Advertisement

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी २१.३८ प्रतिशत बढेको छ भने जगेडा कोष २१.७० प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप १७.३७ प्रतिशत र कर्जा १९.५४ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा रहेको छ।

प्रतिक्रिया