कोरोना संक्रमित बढेपछि फेरि बन्द भयो चिडियाखाना

विदुर खबर २०७८ माघ १० गते ८:४६

नुवाकोट । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो ।

Advertisement

सदर चिडियाखानाका प्रमुख रचना शाहले चिडियाखाना केही दिनका लागि बन्द गरिएको जानकारी दिँदै भन्नुभयो– ‘पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी दैनिक रूपमा खोल्ने तयारी गरेका थियौं, जिल्ला प्रशासन कार्यालयले एक साता बन्द गर्न निर्देशन दियो ।’ उहाँले स्वास्थ्य सावधानी अपनाएर चिडियाखाना खुला गरे पनि उपत्यकामा संक्रमितको दर ह्वात्तै बढ्न थालेपछि एक सातापछि पुनः खोल्ने गरी हाललाई बन्द गरिएको बताउनुभयो ।

कोरोना कहरका कारण अघिल्लो वर्ष करिब ९ महिना बन्द भएको चिडियाखाना साउन १ गतेबाट खुला गरिएको थियो । आर्थिक अभावका कारण चिडियाखानाका वन्यजन्तुलाई स्याहार्न समस्या परेको बेला पुनः बन्द भएपछि सञ्चालन खर्च जुटाउन थप समस्या पर्ने प्रशासनको भनाइ छ । पछिल्लो समय दैनिक करिब ३ हजार अवलोकनकर्ता चिडियाखाना आउने गरेका थिए । पछिल्लो दुई सातायता ओमिक्रोन भेरियन्ट व्यापक रूपमा फैलन थालेपछि अवलोकनकर्ताको संख्या घटेर दैनिक करिब ५ सयको हाराहारीमा झरेको थियो ।

Advertisement

साउनदेखि खुला गर्दासमेत प्रशासनले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्ने व्यवस्था गरेको थियो । ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि थप कडाइ गरिएको थियो । स्थानीय प्रशासनको आदेशअनुसार अवलोकनकर्ताले अनिवार्य रूपमा खोपकार्ड बोक्नुपर्ने वा मोबाइलमा खोपकार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने, जीवजन्तुलाई छुन नपाउनेलगायत कडा नियम पालना गर्नुपर्ने व्यवस्था थियो ।

चिडियाखानामा ३३ स्तनधारी, ६१ चरा, ८ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ जीव र जनावर छन् । यसैबीच, कोरोना संक्रमण उच्च बन्दै गएपछि उपत्यकाका सबै संग्रहालय बन्द भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले सबै संग्रहालय बन्द गर्ने निर्णय गरेपछि शनिबारबाट सबै संग्रहालय बन्द भएका छन् ।

Advertisement

प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि हनुमानढोका दरबार, राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालय बन्द भएका छन् । हनुमानढोका दरबार संग्रहालय प्रमुख सन्दीप खनालले स्वदेशी र विदेशी पर्यटकको संख्या बढिरहेका बेला अकस्मात् बन्द गर्नुपरेको बताउनुभयो ।उहाँका अनुसार ओमिक्रोन भाइरस संक्रमण बढ्नुअघि दैनिक ५ सयको संख्यामा पर्यटक आउने गरेकोमा पछिल्लो समय करिब एक दर्जन विदेशी र करिब सयको हाराहारीमा स्वदेशी पर्यटक संग्रहालय आउने गरेका थिए ।

हनुमानढोका संग्रहालयले गद्दी बैठक र त्यसको तल्लो तलामा पृथ्वीनारायण शाह कालदेखि प्रजातन्त्र प्राप्तिसम्मको विषय समेटेको सामग्री प्रदर्शनीमा राख्ने तयारी गरेको थियो । संग्रहालयले काठमाडौं आक्रमण गर्दा पृथ्वीनारायण शाहले प्रयोग गरेको हातहतियारसमेत प्रदर्शनीमा राख्ने तयारी गरेको थियो । सो प्रदर्शनी कक्षको हिजो आइतबार उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको थियो । तर, स्थानीय प्रशासनले संग्रहालय बन्द गर्ने निर्णय गरेपछि सो कार्यक्रम पछि सरेको संग्रहालय प्रमुख खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया