त्रिवि माघ १० गतेसम्म बिदा

विदुर खबर २०७८ माघ २ गते ८:२९

नुवाकोट । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म बिदा दिएको छ ।

Advertisement

त्रिविले बिदासम्बन्धी सूचना जारी गरेसँगै विश्वविद्यालयअन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी बिदा दिने जनाएको छ । यसअघि त्रिवि कार्यकारीले बढीमा १५ दिनसम्म मात्र बिदा दिन सबै क्याम्पस र विभाग र मातहतका निकायलाई निर्देशन दिएको थियो ।

त्रिविले हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने जनाउँदै सूचनामा उल्लेख छ –‘परीक्षा केन्द्रहरूमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने ।’ निकटमै परीक्षा हुने भई पठनपाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठनपाठन गराउन पनि सूचनामा भनिएको छ ।

Advertisement

माघ १० पछि भने स्थानीय तहसँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसकिने भएमा अनलाइन माध्यमबाट पठनपाठन गराउन भनिएको छ ।

प्रतिक्रिया