रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्री आयात बढ्यो

विदुर खबर २०७८ पुष २५ गते १०:४६

नुवाकोट । रसुवागढी नाकाबाट साउनदेखि मंसिर मसान्तसम्म एक सय १५ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ ।

Advertisement

फूल तथा सागपातजन्य वस्तु ३२ दशमलव ७ टन, खाद्यान्न दलहन तथा अन्य १५ दशमलव ४ टन, मसलाजन्य ६ दशमलव ८, मासुजन्य २ दशमलव ४, चियाजन्य ७ दशमलव ४ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेस्ट, डोमालगायतका २३ दशमलव ५ टन खाद्य सामग्री आयात भएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय टिमुरेले जनाएको छ ।

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेस्ट, चामल आदि सामग्रीको आयात हुनेगरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुनेगरेको छ ।

Advertisement

हाल एकद्वार प्रणाली लागु भएपछि इम्पोर्ट पर्मिट नलिएकाहरूको सिस्टमअनुसार भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको संख्या बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले जानकारी दिनुभयो ।साउनदेखि मंसिर मसान्तसम्ममा कार्यालयले १ सय २८ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयले साउनमा ३१, भदौमा २८, असोजमा ३५, कात्तिकमा ६ र मंसिरमा २८ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको हो । आएका सामग्री सबै मापदण्ड अनुसारका छन् ।

कोरोना भित्रिनुभन्दा पहिला दैनिक तीन सयदेखि चार सयको हाराहारीमा मालवाहक कन्टेनर आवतजावत गर्ने गरेका थिए । तर, अहिले दैनिक नौ वटा चिनियाँ गाडी सामग्री लिएर आउने गरेका छन् । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया