रसुवागढी जलविद्युत अायोजनाको मुख्य सुरुङमार्ग ब्रेक थ्रु

विदुर खबर २०७५ भदौ ४ गते ११:०७

Advertisement

रसुवा, रसुवागढी जलविद्युत आयोजनाको मुख्य सुरुङमार्ग अाज विहान ब्रेक थ्रु भएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना गोसाइकुण्ड गाउँपालिका थुमन र टिमुरेको सिमानामा निर्माण भइरहेको छ । रसुवागढी जलविद्युत आयोजना रन अफ रिभर प्रकृतिको आयोजना हो ।

आयोजनाको ४ हजार १ सय ८४ दशमलव ५ मिटर लम्बाइ रहेको मुख्य सुरुङमार्ग सोमबार विहान ब्रेक थ्रु भएको हाे । अहिले सिभिलतर्फको सम्पूर्ण काम धमाधम भइरहेको छ । अधिकांश संरचना भूमिगत रहेको यस आयोजनाको सिभिलतर्फको निर्माण चिनिया ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनले गरिरहेको छ । २०७० माघदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ६७ प्रतिशत काम सकिएको रसुवागढी जलविद्युत आयोजनाका आयोजना प्रमुख छवि गैह्रेले बताए ।

Advertisement

बाँध स्थलमा भएको इन्टेकको काम, ३ वटा भूमिगत पानी थिग्राउने पोखरीको निर्माण, भूमिगत विद्युतगृह निर्माण, टेलरेस सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा एक साथ भइरहेको उनले बताए । सन् २०२० को फेब्रुअरीमा तीन वटै युनिटबाट विद्युत उत्पादन गर्ने हिसाबले काम अगाडि बढेको छ । भुकम्प र नाकाबन्दीको कारण रसुवागढी जलविद्युत् आयोजना केहि समय निर्माण स्थगित भएको थियो । रसुवागढी जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीहरुले निर्माण सुरु गरेका आयोजनाहरु मध्य निर्माण भइरहेको सबैभन्दा ठूलो आयोजना हो ।

प्रतिक्रिया