नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने

विदुर खबर २०७८ पुष १५ गते १०:०१

नुवाकोट । शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने भएको छ ।

Advertisement

शिक्षक सेवा आयोगले तीन तहका शिक्षक पदपूर्ति गर्न १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन पूरा गरेको छ । आयोगले बुधबार प्रावि तहको शिक्षकको विज्ञापन गरेको थियो । सो तहमा १३ हजार ९३ शिक्षकको विज्ञापन गरेको हो । प्राविको जिल्ला स्तरबाटै प्रतिस्पर्धा र छनोट गर्ने गरी खुला विज्ञापन गरेको हो । आयोगले १० दिनको अन्तरालमा तीनै तहको शिक्षकको विज्ञापन प्रक्रिया पूरा गरेको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले परीक्षा सकेर स्थायी शिक्षक विद्यालयमा हाजिर हुन करिब आठ महिनाजति लाग्ने दाबी गर्नुभयो । तर उहाँको दाबीलाई साँचो मान्न मुस्किल पर्छ । आयोगले तय गरेको सामान्य परीक्षाको मिति माविको १५, निमाविको १७ र प्राविको १९ गते छ ।

Advertisement

१०० पूर्णाङ्कको सामान्य परीक्षाको परीक्षाफल प्रकाशित हुन करिब तीन महिना लाग्न सक्ने अनुमान आयोगको छ । सो परीक्षामा ५० प्रतिशत उत्तीर्ण अंक ल्याउनैपर्छ । विषयगततर्फको १०० पूर्णाङ्कको परीक्षा दिनुपर्छ । सो परीक्षामा ४० प्रतिशत अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुन्छ ।

‘एउटा परीक्षार्थीले एक तहको शिक्षकको भर्ना हुन दुई विषयमा परीक्षा दिनुपर्ने भएकाले केही ढिलो हुन सक्छ’ –सूचना अधिकारी मरहठ्ठाले भन्नुभयो । ती परीक्षार्थी दुई परीक्षामा उत्तीर्ण भएपछि विज्ञसहित टोलीको अन्तर्वार्ता लिएपछि बल्ल नियुक्ति प्रक्रिया शुरु हुन्छ ।

Advertisement

यी सबै प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्न सक्ने अनुमान गर्न सकिन्छ । यो वर्ष निर्वाचन पर्ने भएकाले अझै ढिलो हुन सक्ने सम्भावना रहेको छ । आयोगका सूचना अधिकारी मरहठ्ठ भन्नुहुन्छ– ‘हामीले तोकेको समयमा अर्थात् करिब ९ महिनाभित्र नयाँ शिक्षक नियुक्ति प्रक्रिया शुरू गर्ने योजना बनाएका छौं । सोहीअनुसार सम्पूर्ण प्रक्रिया अघि सारेका छौं ।’

आयोगले राष्ट्रिय परीक्षा बोर्डसँग अनौपचारिक कुराकानी गरी एसईई परीक्षा र आयोगको परीक्षा सँगै नगर्ने गरी सहमति गरिसकेको छ । यसअघि एसईईको कारण परीक्षा सर्न सक्ने अनुमान आयोगको थियो । आयोगका सूचना अधिकारी मरहठ्ठाले बोर्डले शिक्षक परीक्षा हुनु केही अघि वा पछि मात्र एसईई परीक्षा हुने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

आयोगले अनुसार मावि तहमा १ हजार ५ सय ४७, निमाविमा २ हजार ५ सय ९८ र प्राविमा लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको छ । आयोगले यसपटकबाट अनलाइन माध्यमबाट मावि तहको आवेदन लिएको छ । आवेदकको संख्या एकैपटक बढ्न सक्ने र सर्भरले काम गर्न नसक्ने भयले चरणबद्ध रूपमा विज्ञापन गरेको हो ।

माध्यमिक र निम्न माध्यमिक तहभन्दा बढी प्राथमिक तहको संख्या प्राविमा झन्डै ९ हजार बढी आवेदन माग गरिएको छ । राज्यले हाल माध्यमिक र आधारभूत गरी दुई तहको शिक्षा निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन तहका शिक्षकको संख्या तोकेर पठाएपछि सोही आधारमा विज्ञापन गरेको आयोगको भनाइ छ । सरकारले १–८ आधारभूत र ९–१२ लाई मावि तह उल्लेख गरेको छ । आयोगले परीक्षामा बढी शिक्षक उत्तीर्ण गर्ने अभिप्रायले सबै तहको नमुना प्रश्नपत्र तयारी गरेको छ ।

प्रतिक्रिया