धादिङमा २०० मेगावाटका ९ आयोजना निर्माणका विभिन्न चरणमा

विदुर खबर २०७८ कार्तिक ५ गते १७:१९

नुवाकोट । धादिङ जिल्लामा करिब २ सय मेगावाटका ९ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

Advertisement

निजी जलविद्युत प्रवर्द्धकले पहिचान गरी अघि बढाएका यी आयोजना निर्माणाधीन, निर्माणमा जाने तयारीमा र अध्ययनरत छन् । विद्युत विकास विभागका अनुसार जिल्लामा १३८ मेगावाटका ५ आयोजनाले निर्माण अनुमति लिई आयोजना अघि बढाएका छन् । बाँकी ६४ मेगावाटको ४ आयोजनाको अध्ययन भइरहेको छ ।

उत्पादन अनुमति पाउनेमा ४२.९ मेगावाटको आँखु खोला, २५.४ मेगावाटको सुपर आँखु, ३८ मेगावाटको माथिल्लो आँखु, २५ मेगावाटको इलेप तातोपानी र ७ मेगावाटको मेनचेत खोला रहेका छन् । यस्तै, अध्ययन अनुमति पाउनेमा २० मेगावाटको आँखु खोला–२, २६ मेगावाटको तातोपानी खोला, १३.८६ मेगावाटको भाबील–१ र ४.५ मेगावाटको गसाली खोला रहेका छन् ।

Advertisement

४२.९ मेगावाटको आँखु खोला आखु हाइड्रो पावर प्रालिले पहिचान गरी अघि बढाएको छ । यो आयोजनाको अध्ययन पूरा गरी २०७३ माघ २७ गते कम्पनीले उत्पादन अुनमति पाएको विभागको वेपसाइटमा उल्लेख छ । यो आयोजना जिल्लाको  दार्खा, गुम्दी र झरलाङमा अघि बढाइएको छ ।

यही खोलामा गोरक्ष हाइड्रो पावर प्रालिले २५.४ मेगावाटको सुपर आँखु खोला अघि बढाएको छ । कम्पनीले २०७५ असोज २ गते उत्पादन अनुमति लिई आयोजनाको काम सुरु गरेको छ । यो आयोजना लापा र सिरतुङमा रहने गरी डिजाईन तयार पारिएको छ ।

Advertisement

आयोजनाको अहिले आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्ने काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहुँचमार्ग निर्माणको काम पूरा गरेर सामान ढुवानी गरेर सिभिल संरचनाको काम सुरु गरिनेछ ।

यस्तै, ३८ मेगावाटको माथिल्लो आँखु खोला धादिङ आँखु खोला हाइड्रो पावर कम्पनीले अघि बढाएको छ । कम्पनीले २०७६ पुस ७ गते उत्पादन अनुमति लिई रुवीभ्याली र खनियाबास गाउँपालिकामा अघि बढाएको  छ । आयोजनाको अहिले पहँचमार्ग बनाउने र रुख कटानको काम भइरहेको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ५ बैंकले साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

कूल ७ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले गर्ने  ऋण लगानी ७५ प्रतिशत हो । २५ प्रतिशत स्वपुँजी लगानी छ । अबको ४ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ ।

प्रतिक्रिया