वाग्मती प्रदेशमा धानबालीमा भएको क्षतिको विवरण सङ्कलन सुरु

विदुर खबर २०७८ कार्तिक ४ गते ७:३८

नुवाकोट । वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन दिनदेखिको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको छ । 

Advertisement

मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको अध्यक्षतामा बसेको बैठकले धानबालीमा भएको क्षतिको विवरण सङ्कलन गर्नका लागि र्‍यापिड रेस्पन्स टिम गठन गरेलगतै प्रदेशका विभिन्न जिल्लामा क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको हो ।

प्रदेशमा रहेका एक सय १९ वटै पालिका र कृषि ज्ञान केन्द्रमार्फत विवरण सङ्कलन गर्ने काम सुरु गरिएको सचिव पाण्डेले जानकारी दिनुभयो । 

Advertisement

पानी परेका कारण किसानले काटेको धान खेतमा खेर गएमा क्षतिपूर्तिसमेत दिइने भएको छ । किसानका लागि प्रदेश सरकार भएको अनुभूति गराउन पनि तत्काल विवरण सङ्कलन गरेर क्षतिपूर्ति दिने व्यवस्था गर्न लागिएको बताउँदै मन्त्रालयका सचिव पाण्डे भन्नुहुन्छ, धेरै खालका बालीमा भएको नोक्सानीमा क्षतिपूर्ति दिनका लागि मन्त्रालयले एक करोड रुपैयाँ छुट्याएकाे छ । धानमा भएको क्षतिको विवरण सङ्कलन गरेपछि त्यही रकमबाट किसानलाई राहत उपलब्ध गराउने छौँ ।’

क्षतिको विवरण सङ्कलन गर्नका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको सबै किसानलाई क्षतिको विवरण टिपाउनका लागि अनुरोधसमेत गरेको छ । 

Advertisement

भारी वर्षा र हुरीका कारण धान बालीमा पुगेको यकिन विवरण आइनसकेकाले वाग्मती प्रदेशको कृषि विकास निर्देशनालयले सबै ज्ञान केन्द्रहरूलाई विवरण सङ्कलन गर्नका लागि पत्रसमेत पठाइसकेको छ ।

पानीले धान बालीमा परेको असर पहिल्याउन ‘र्‍यापिड टास्क फोर्स’ गठन गरेको कृषि विकास निर्देशनालय वाग्मतीका प्रमुख रविन्द्रबहादुर प्रधानले बताउनुभयो । नजिकैको पालिका वा ज्ञान केन्द्रमा आफ्नो क्षतिको विवरण पठाउन  किसानलाई आग्रह गरिएको प्रधानले बताउनुभयो । 

चितवन, काभ्रे, मकवानपुर, धादिङ, काभ्रेपलान्चोक, सिन्धुली लगायतका ठाउँहरुमा धान बालीलाई हावा र पानीले ढालेको अपुष्ट विवरण प्राप्त भएको उहाँको भनाइ छ । प्रदेशभर ठूलो डुबानको अवस्था नहुने भएकाले पानी पर्न कम भए खासै ठूलो असर देखिने अवस्था नरहेको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया