किस्पाङ दुर्घटनाका ३४ जना घाइते घर फर्किए

विदुर खबर २०७८ कार्तिक १ गते २०:३५

नुवाकोट । नुवाकोटबाट काठमाडाैंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको किस्पाङ–१ का रमेश तामाङको निधन भएको हो।

३८ वर्षीय तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

Advertisement

उनका अनुसार गम्भीर अवस्थाका थप नौ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा घाइते भएकामध्ये बाँकी आठ जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ। उनीहरूमध्ये अधिकांशको हात र खुट्टा भाँचिएकाले अवस्था क्रमशः सामान्य हुँदै आएको छ।

Advertisement

घाइतेमध्ये अन्य ३४ जना उपचारपछि आजै घर फर्किएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए।

किस्पाङ गाउँपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौँ जान लागेको बा ४ ख ५७६२ नंको बस आज बिहान ११ बजे मनकामना आइपुग्दा ब्रेकले काम नगरेसँगै दुर्घटनामा परेको थियो।

यात्रुले खचाखच भरिएको केरुङ यातायात प्रालिको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकसहित ५३ जना घाइते भएका थिए। 

प्रतिक्रिया