रसुवामा बँदेलको आतंक

विदुर खबर २०७८ असोज २१ गते १२:५१

रसुवा । ‘बाँदर र भालुले भन्दा बँदेलले धेरै दुःख दियो । दिउँसो आउने बाँदरलाई त धपाउन सकिन्छ, राति बँदेललाई कसरी धपाउनु ? राति कतिखेर आएर बाली सखाप पार्छ थाहै पाइँदैन । पहिले ४–५ ठाउँमा खेती गरिन्थ्यो । अहिले एक ठाउँकै पनि जोगाउन गाह्रो परेको छ ।

Advertisement

सबै छोडिदियौँ । अन्नबाली त खाए–खाए अब घरमा आएर पनि दुःख दिन थाल्या छन्,’ गोसाइँकुण्ड गाउँपालिका खाम्जिङका डुक्तर तामाङले वन्यजन्तुका कारण खेपिरहेको हैरानी एक सासमै सुनाए । बँदेलको बिगबिगी सबैभन्दा धेरै भएको लाङटाङ उपत्यकामा किसानको बिजोग छ । बृदिमका ङवाङ तामाङले पनि घरभन्दा टाढाको जग्गामा खेतीपाती गर्न छोडिसकेका छन् । बँदेलले बाली सखाप पारिदिने भएकाले १४ रोपनी जग्गामध्ये अहिले ४ रोपनीमा मात्रै खेती गरिरहेका हुन् । ‘यहाँका धेरैजसो किसानको हाल मेरोजस्तै छ,’ उनले भने । बृदिमका किसानलाई बँदेलबाहेक बाँदर र दुम्सीबाट पनि बाली जोगाउने पिरलो छ ।

लाङटाङका बासिन्दाको जीविकाको अर्को माध्यम पर्यटन र चौरीपालन हो । कोरोना महामारीका कारण डेढ वर्षदेखि पर्यटक आवागमन ठप्प छ । ‘एकातिर जंगली जनावरले बाली सखाप पारिदिने, अर्कोतिर पर्यटक पनि नआउने, अहिले घरको आम्दानी केही छैन । छाक टार्नकै समस्या हुन थालेको छ,’ लाङटाङका फिन्जो तामाङले भने ।

Advertisement

वन्यजन्तुले बालीमा क्षति गरेमा र गाईबस्तु मारेमा राहत पाइन्छ भन्ने थाहा पाएपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा राहतका लागि निवेदन दिने किसानको संख्यासमेत बढ्दै गएको छ । यसले पनि यस क्षेत्रमा वन्यजन्तुको कहर बढेको प्रस्ट हुन्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा यी तीन जिल्लाका ३ सय ६७ जना किसानलाई वन्यजन्तुले क्षति पुर्‍याएबापत २१ लाख ९ हजार ६ सय ५५ रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् । उनका अनुसार सबैभन्दा धेरै (३५८ जना) बँदेलले बाली क्षति गरेबापत राहत लिएका छुन् ।

‘चालु आवमा पनि यस्ता निवेदन परेका छन् । वन्यजन्तुले गाईबस्तु मारेको वा घाइते बनाएको भन्दा धेरै जंगली बँदेलले खेतीबाली बिगारेको दाबी किसानको छ,’ रानाले भनिन्, ‘यस वर्ष पनि राहत दिने तयारी भइरहेको छ ।’

Advertisement

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा बँदेल, भालु र चितुवाजस्ता वन्यजन्तुले मान्छे मारेमा, गाईबस्तु मारेमा, घरगोठ तथा घरमा राखेको अन्न र खेतबाली बिगारेमा राहत दिने व्यवस्था छ । जसअनुसार वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएका मृतकको परिवारलाई १० लाखसम्म, सख्त घाइतेलाई २ लाखसम्म र सामान्य घाइतेलाई २० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउँछन् । तर यस्तो राहत लिन पनि अनेक झमेला रहेको पीडितको गुनासो छ । ‘निकुञ्जले दिने राहत लिन धेरै झन्झट बेहोर्नुपर्छ,’ बृदिमका ङवाङ तामाङले भने ।


प्रतिक्रिया