नगर अधिवेशनले कांग्रेसका नेता कार्यकर्ता उत्साहित

विदुर खबर २०७८ असोज १६ गते १०:३८

नुवाकोट । काठमाडौँका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् ।

Advertisement

नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ । काठमाडौँ महानगरपालिका– २५ का वडाध्यक्ष नीलकाजी शाक्य लामो समयदेखि नभएको पार्टीको महानगर अधिवेशनले कार्यकर्ता उत्साहित भएको बताउनुहुन्छ ।

पार्टीका पुराना नेतासमेत रहनुभएका शाक्यले महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लाग्नुभएको छ । शाक्यसँगै नेपाल तरुण दल काठमाडौँका संस्थापक अध्यक्ष प्रगतिमान रञ्जित पनि महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा लाग्नुभएको छ । महानगरमा दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

महानगरपालिकामा १२औँ र १३औँ महाधिवेशनका बेला नगर अधिवेशन नभएकामा यसपटक गर्न लागिएकाले कार्यकर्ता उत्साहित भएको जिल्ला सभापति कृष्ण सबुज बानियाँले राससलाई जानकारी दिनुभयो । काठमाडौँमा करिब १३ वर्षपछि महानगर अधिवेशन हुन लागेको हो ।

महानगरका ३२ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा सभापति, पार्टीका तर्फबाट निर्वाचित सांसद, प्रदेशसभा सदस्य, पार्टीबाट सांसद र प्रदेशसभा सदस्यमा उम्मेदवार भएका पदेन प्रतिनिधि भई निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था कांग्रेसको विधानमा रहेको जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बताउनुभयो ।

Advertisement

चन्द्रागिरि नगरपालिकामा सर्वसम्मत सभापति चयन हुने वातावरण बनेको छ । पार्टीका सबै पक्ष नगर प्रमुखसमेत रहनुभएका घनश्याम गिरीलाई सभापति बनाउन सहमत भएको जनाइएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयनको तयारी भएको कांग्रेस नेताले जनाएका छन् । दक्षिणकाली नगरपालिकामा भने विवादका कारण स्थगन गरिएको छ ।

कीर्तिपुर, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा पनि आज नगर अधिवेशन गरिँदै छ । अधिवेशनको कार्यक्रम बिहान ८ः०० बजेदेखि नै शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलुका ५ः०० बजेपछि निर्वाचन कार्यक्रम नराख्न नगर निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन भएका सबै जिल्लामा दसैँअघि नै स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको सचिव वरिष्ठ अधिवक्ता जगन्नाथ श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया