रसुवामा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सर्भे सुरु

विदुर खबर २०७८ असोज १६ गते ७:३१

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सर्भे सुरु गरिएको छ ।

Advertisement

यसअघि वन क्षेत्रबाट सर्भे गरिएको थियो । वन क्षेत्रबाट अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्दा लागत बढ्ने र सामग्री ढुवानीमा समेत समस्या आउने देखिएपछि निकुञ्ज क्षेत्रतर्फ सर्भे थालिएको हो । 

रातमाटे–रसुवागढी–केरुङ ४०० सय केभी प्रसारण लाइन आयोजनाको टोलीले रातमाटेदेखि रसुवागढीसम्म सर्भे गरिरहेका छन् । अहिले १० जनाको टोलीले सर्भेको काम गरिरहेका आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताउनुभयो । ‘अहिले सर्भेको काम चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘तिहारअघि त्यो काम सकिने छ ।’ 

Advertisement

आयोजनाले गरेको अध्ययनअनुसार निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन बनेमा झन्डै एक अर्ब रुपैयाँ लागत घट्ने छ । निकुञ्ज क्षेत्रबाट प्रसारण लाइन निर्माण भएमा आयोजनाको लागत, दुरी र टावरको सङ्ख्यासमेत घट्ने आयोजना प्रमुख आत्रेयले बताउनुभयो । 

वन क्षेत्रबाट निर्माण गर्दा प्रसारण लाइनको दुरी ७० किलोमिटर हुने र १० अर्ब रुपैयाँ लागत लाग्ने बताइएको छ । जसमा दुई सय १४ वटा टावर निर्माण गर्नुपर्छ । तर निकुञ्ज क्षेत्रबाट निर्माण गरे लाइनको दुरी ६५ किलोमिटर हुने भएकाले लागत झन्डै नौ अर्ब लागत लाग्ने छ । यस क्षेत्रबाट निर्माण गर्दा एक सय ७१ वटा टावर निर्माण गरे पुग्छ ।

Advertisement

आयोजनाले सम्भाव्यता अध्ययनको काम सकाएर दुई देशबीच विद्युत् आदान–प्रदान गर्नका लागि नेपालतर्फ यसअघि नै लोड फ्लो टेस्टको काम पनि सकेको छ । आयोजनाले प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सकिने गरी काम अगाडि बढाएको छ ।

प्रसारण लाइनको चीनतर्फ तिब्बतमा रहेको जिलोङ काउन्टी र नेपालतर्फ नुवाकोटको त्रिशूलीमा सबस्टेशन राखिने आयोजनाले जनाएको छ । नेपालतर्फ ४०० सय केभी डबल सर्किट र चीनतर्फ ५०० केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ ।

आयोजनाको निर्माण कार्य ६ वर्षमा निर्माण सकिने छ । 

प्रतिक्रिया