कांग्रेस अधिवेशन : वाग्मती प्रदेशका पालिकामा देउवा पक्षको वर्चस्व

विदुर खबर २०७८ असोज १२ गते ७:३८

नुवाकोट । नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत वाग्मती प्रदेशका अधिकांश स्थानमा सभापति शेरबहादुर देउवा पक्षले विजय हासिल गरेको छ ।

Advertisement

मकवानपुरका १० स्थानीय तहमध्ये आठमा निर्वाचन र दुईमा सर्वसम्मतबाट नेतृत्व चयन भएको थियो । जसमध्ये सभापति देउवा समूहका ६ जना र इतरका चार जना सभापतिमा निर्वाचित भएका छन् ।

देउवा समूहबाट हेटौंडामा उत्सव इटेनी, मनहरीमा प्रकाश बर्तौला, मकवानपुरगढीमा राजवीर लामा, कैलाशमा राजेन्द्र घिसिङ, बकैयामा दिलबहादुर भोम्जन र इन्द्रसरोवर गाउँपालिकामा विश्व लामा निर्वाचित भएका छन् । रामचन्द्र पौडेल समूहबाट थाहा नगरपालिकामा प्रमोद जोशी, भीमफेदीमा सञ्जीव श्रेष्ठ, वाग्मतीमा फणीन्द्र तिमल्सिना र राक्सिराङमा वीरेन्द्र जिम्बा सभापतिमा चयन भएका छन् ।

Advertisement

काभ्रेमा देउवा र नेता कृष्णप्रसाद सिटौला पक्ष हाबी देखिएको छ । जिल्लामा सिटौला समूहको नेतृत्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंले गर्छन् । देउवा पक्षको नेतृत्व भने संविधानसभा सदस्य तीर्थ लामाले गर्छन् । जिल्लामा नेतृत्व टुंगिएका १२ मध्ये १० पालिकामा सिटौला–देउवा समूह विजयी भएका छन् । उक्त समूहबाट बनेपामा महेशकुमार कर्माचार्य, धुलिखेलमा विदुरबहादुर बस्नेत, बेथानचोकमा प्रेमबहादुर तिमल्सिना र तेमालमा ज्ञानबहादुर लामा निर्वाचित भए । सर्वसम्मत भएका नमोबुद्धका कुन्साङ लामा, पनौतीका रामशरण भण्डारी, रोशी गाउँपालिकाका दुधराज तामाङ, भुम्लुका दावा लामा, चौरीदेउरालीका शेरबहादुर तामाङ, खानीखोलाका दोर्जेमान जिम्बा पनि सोही समूहका हुन् ।

जिल्लामा सिटौला र देउवा समूह मिलेर निर्वाचनमा उम्मेदवारी दिएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मण्डनदेउपुरमा कश्यप पौडेल निर्वाचित र पाँचखालमा सञ्जय तामाङ सर्वसम्मत भए । जिल्ला सभापति मधुप्रसाद आचार्य, पूर्वराज्यमन्त्री कञ्चनचन्द्र बादे पौडेल समूहमा छन् । केन्द्रमा विमलेन्द्र निधिनिकट मानिने पाँचखाल नगर प्रमुख महेश खरेल जिल्लामा सोही समूहमा छन् ।

Advertisement

चितवनका सात पालिकामध्ये पाँचवटाको परिणाम सार्वजनिक भएको छ । भरतपुरमा आइतबार दिउँसो अबेर मतदान सकिएकाले परिणाम आइसकेको छैन । रत्ननगरमा पनि आइतबार साँझसम्म मतगणना जारी नै छ । माडीमा शनिबार भएको मतदानबाट कोमलनाथ भुसाल सभापति रहेको नयाँ कार्यसमिति चयन भएको छ । त्यसैगरी राप्ती नगरपालिकामा देवेन्द्र लामा र खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ सभापतिमा चयन भएका छन् । कालिका नगरपालिकामा दीपेन्द्र केसी सभापतिमा विजयी भए । इच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठले चुनाव जितेका छन् । हालसम्म विजयी चितवनका पाँचवटै पालिकाका सभापतिहरू देउवाइतर पक्षका छन् ।

सिन्धुलीका ९ वटा पालिकामध्ये देउवा पक्षका चार र पौडेल पक्षका चारले नेतृत्व हात पारेका छन् । घ्याङलेख गाउँपालिकाका सभापति भने खुलेका छैनन् । संस्थापन पक्षबाट दुधौलीमा नगर सभापतिमा बलराम कार्की, तीनपाटनमा सोमप्रसाद घिमिरे, हरिहरपुरगढीमा बमबहादुर स्याङ्वा र फिक्कलमा रामबहादुर कार्की चयन भएका छन् । पौडेल पक्षबाट कमलामाई नगर सभापतिमा कमल पोखरेल, सुनकोसीमा चन्द्र श्रेष्ठ, गोलन्जोरमा मोतीराज सापकोटा र मरिणमा रामबहादुर वाइवा नेतृत्वमा आएका छन् । घ्याङलेख गाउँपालिका सभापति गणेश पुलामी भने खुलेका छैनन् ।

नुवाकोटको कांग्रेसको गाउँ–नगर अधिवेशनमा देउवा पक्षको वर्चस्व छ । जिल्लाका १२ वटा पालिमध्ये देउवा पक्षका ७ सात र संस्थापनइतर पक्षका ५ जना चयन भएका छन् । रामेछापका ८ पालिकामै तीनवटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पाँचवटामा मतदानमार्फत कार्यसमिति चयन गरिएको छ । सबै पालिकाका सभापतिमा पौडेल पक्षले जित हासिल गरेको छ ।

प्रतिक्रिया