सास फेर्दा फोक्सोमा धुलो कसरी पुग्छ र त्यसले के के असर गर्छ ?

विदुर खबर २०७५ साउन ३१ गते ३:१६

Advertisement

श्वासप्रश्वास प्रक्रिया अन्तर्गत हामीले सासभित्र लिने र बाहिर फ्याँक्ने गर्छाैं । यो शरीरका लागि अनिवार्य अक्सिजन परिपूर्ति गर्ने प्रक्रिया हो । तर, हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजन मात्र होइन, धेरै मात्रामा हानी गर्ने तत्वहरु मिसिएका छन् भने त्यसलाई प्रदूषणका रुपमा बुझ्नुपर्छ ।

हावासँगै विभिन्न कणहरु उडिरहेका हुन्छन् । ती हामीले सास फेर्दा सँगै शरीर भित्र जान्छन् । तीमध्य कतिपय कणलाई हाम्रो श्वासप्रश्वास प्रक्रियाले पचाउँछ वा बाहिर निस्कासन गर्छ । कतिपय कणलाई भने केही गर्न सक्दैन र ती फोक्सोमा गएर बस्छन् । रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुग्छन् र समग्र स्वास्थ्यस्थिति बिगार्छन् ।

Advertisement

हामीले सास फेर्दा हावामा रहेका ससाना कणहरु फोक्सोमा रहेको हावाको फोकाहरु (एलबिआई) मा पुग्छन् । ती कण फोक्सोमा पुगेपछि त्यहाँ हुने रक्त कोषिकामा बस्छन् । हानिकारक तत्व नभएका कणहरु त्यहीँ पच्छन् वा शरीरको प्रक्रियाले बाहिर निकाल्छ । त्यस्ता कणलाई बाहिर निकाल्ने एउटा प्रक्रिया हो खोकी । घाँटीदेखि फोक्सोसम्म रहेका कणहरु निकाल्ने क्रममा खोकी लाग्ने गर्छ । ठूला कणहरु खोक्दा वा खकारका माध्यामबाट निस्किन्छन् । तर, साना कण फोक्सोमा यस्तरी गडेका हुन्छन् कि हत्तपत्त निस्किँदैनन् । शरीरले भने बाहिर निकाल्ने प्रक्रिया जारी राख्छ, त्यसैले लामो समयसम्म खोकी लागिरहन्छ ।

खोकी हावाका माध्यमबाट शरीरभित्र पसेका अनावश्यक कणहरु निकाल्ने प्रक्रिया हो । तर सबै अवस्थामा यी कणहरु बाहिर निस्किँदैनन् । निस्कन नसक्ने कणलाई शरीरको प्रणालीले फुटाएर निकाल्ने, अन्यत्र सार्ने वा पचाउने काम गर्छ । तर, कतिपय यस्ता कण हुन्छन्, जो फुट्दैनन्, पच्दैनन् र अन्यत्र सर्दैनन् पनि । फोक्सोमै गडेर बस्छन् । ती कण बसेको ठाउँमा एकखालको संक्रमण हुन्छ । जुन अन्यत्र फैलिँदै दीर्घकालमा फोक्सो सम्बन्धी विभिन्न रोगमा परिणत हुन्छ । क्रोनरी आर्टरी डिजिज, स्ट्रोक, क्यान्सर आदि रोग यसैको कारण हो ।

Advertisement

धुलोधुवाँमा विभिन्न हानिकारक तत्व हुन्छन् । दाउरा, फोहोर, कोइला र गाडीको धुवाँधुलोका कारण कार्बन्डाइअक्साइड, कार्बनमोनोअक्साइड निस्किन्छ । ढुंगा, बालुवा, सिमेन्टजस्ता तत्व मिसिएका सडक, घर आदि भौतिक संरचना भत्काउँदा निस्किएको धुलो नै काठमाडौँको आकासमा फैलिएको धुलोको प्रमुख स्रोत हो । यसमा सल्फेडाइअक्साइड, नाइट्रेटअक्साइड, सिलिका, ग्रेनाइट जस्ता रसायनिक तत्व नहोला भन्न सकिन्न । यसको असर तुरुन्तै नदेखिन सक्छ । अबको चार–पाँच वर्षपछि देखिएला । भविष्यमा काठमाडौँबासीलाई फोक्सो सम्बन्धी विभिन्न रोगसँगै ढुंगा फोड्ने र घर भत्काउने मजदुरलाई बढी देखिने एस्कोसिस, सिलिकोसिस जस्ता समस्या आउने सम्भावना प्रवल छ ।

सिमेन्ट वा ढुंगामा प्रचुर मात्रामा सिलिका हुन्छ । सिलिका श्वाप्रश्वासको माध्यमबाट फोक्सोमा गयो भने त्यसलाई रक्त कोषिकाले तान्छ । यसलाई पचाउन वा फुटाउनन नसकिने हुनाले फोक्सोमा बसिरहन्छ । विस्तारै सास फेर्ने क्षेत्रमा खराबी आउँछ । पछि खत बस्छ र फाइब्रोसिस हुन्छ । सिलिका जस्ता हानिकारक तत्वहरु फोक्सोमा गएपछि क्षयरोग र फोक्सोको क्यान्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

वायु प्रदूषणकै कारण मुटु सम्बन्धी रोग लाग्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट छिरेका हानीकारक कणहरु कार्डियो भास्कुलर प्रणालीमै पुगेपछि शरीरको जताततै असर पुग्छ । ती त साना कणले पार्ने असर हुन् । ठूला कणले पनि विभिन्न समस्या ल्याउँछन् । काठमाडौँको धुवाँधुलोले नाक र घाँटी सम्बन्धी विभिन्न समस्या निम्त्याएका छन् । धुलोमा रहेका ठूला कण शरीरका यिनै अंगमा अड्किन्छन् । सामान्य हिसाबले बाहिर निस्किएनन् भने शरीरले आफ्नो प्रणालीको प्रयोग गरेर यी कणलाई बाहिर निकाल्छ । जसका कारण एलर्जिक राइनोसाइनोसाइटिस र फेनेन्जाटाइटिस बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ दशमलब ५ पिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरु हुनुलाई स्वस्थ मानिन्छ । तर, अहिले काठमाडौँमा २ दशमलब ५ पिएम एक सय ९० सम्म पुगेको एउटा तथ्यांकले देखाएको छ । जसलाई हानिकारक हावा मानिन्छ ।

अहिले प्रदूषणको स्थिति हानिकारक तहमा रहेकाले यसबाट जोगिन उपाय अपनाउनुपर्छ । औषधि–उपचारले शरीरमा पसेका हानिकारक तत्व निकाल्ने काम गर्छ । औषधिको सहायताले शरीरभित्र पसेका हानीकारक कण निकाल्दै जाने तर वायु मण्डलबाट कण भित्र पसिरहने हो भने त्यो उपचारको कुनै अर्थ रहँदैन ।

सकेसम्म सुरक्षित मास्क लगाएर हिँड्ने गर्नुपर्छ । सुरक्षित मास्क यसकारण भनिएको हो कि, बजारमा उपलब्ध सबै मास्कले धुलोधुवाँका साना कणहरु रोक्नै सक्दैनन् ।

बिरामी, बच्चा र बृद्धलाई प्रदूषणले बढी असर गर्छ । त्यसैले बिहान र बेलुकीपख सकेसम्म बाहिर निस्कन दिनु हुँदैन । हावा स्थिर र चिसो अवस्थामा रहने भएकाले त्यो समय धुलोधुवाँका कण जमिनभन्दा धेरै माथि पुग्न पाएका हुँदैनन् । बिहान र बेलुकाको समयमा प्रदूषणका कणहरु श्वासप्रश्वासबाट छिटो शरीरभित्र पुग्छन् ।

लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखियो भने जति सक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ । बालबालिकामा त झन् श्वासप्रश्वास प्रणाली विकास हुने क्रममा रहने भएकाले यस्तो समस्या आएमा उपचारका लागि चिकित्सकको परामर्श लिन ढिलाइ गर्नु हुँदैन ।

– डा अर्पणा न्यौपाने

प्रतिक्रिया